Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनसरी घटनामा सर्वदलीय बैठक: राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन दलहरूको साझा प्रतिबद्धता

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। बैठकले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै सातबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू सहभागी थिए।

संयुक्त विज्ञप्तिमा सुनसरी घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय, सामाजिक सद्भावको संरक्षण तथा समस्याको शान्तिपूर्ण र दीर्घकालीन समाधानका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा अधिकांश नेताहरूले यति संवेदनशील विषयमा सर्वदलीय पहल सरकारले गर्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ बैठकमा अनुपस्थित रहेको विषय पनि नेताहरूले उठाएका थिए।

रास्वपा सभापति रवि लामिछानेले साम्प्रदायिक विषय अत्यन्त संवेदनशील भएकाले परिस्थिति थप जटिल बन्नुअघि नै साझा पहल आवश्यक रहेको बताए। उनले राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटनाको समाधान सबै दलको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताए। उनले प्रधानमन्त्रीबाट अपेक्षित सक्रियता नदेखिएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घटनाको समाधान गर्ने मुख्य जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै आवश्यक पूर्वतयारी र रोकथाममा कमजोरी भएको टिप्पणी गरे। उनले घटनामा बाह्य तत्वको संलग्नताबारे पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा राखे।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरक्षा निकायले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको आरोप लगाउँदै शान्ति पुनःस्थापनाका लागि स्थानीय तहदेखि सर्वदलीय संवाद सञ्चालन गर्नुपर्ने बताए।

बैठकमा सहभागी अन्य दलका नेताहरूले पनि घटनाको निष्पक्ष छानबिन, सुरक्षा संयन्त्रको भूमिकाको समीक्षा, स्थानीय तहमा संवाद विस्तार, धार्मिक सहिष्णुताको संरक्षण र सामाजिक सद्भाव कायम गर्न सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै सर्वदलीय बैठकबाट आएका सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए।