Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन काण्डमा आजदेखि महरासँग बयान

काठमाडौं । कहिले युवती काण्ड त कहिले सुन काण्डमा डामिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको छ। सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले पहिलोपटक चार दिनको म्याद दिएको छ। महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको छ। सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ। मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ। सीआईबीले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो। तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ। अदालतको निर्देशनपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको सीआईबी स्रोतले जानकारी दिएको छ। बुधबारदेखि महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अगाडि बढाउने भएको छ। महरालाई यसअघि सोमबार भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याएर सीआईबीको कार्यालय पुर्‍याउँदा पनि सीआईबी अधिकारीले प्रारम्भिक बयान लिन खोजेका थिए। त्यतिबेला महरासँग छोटो संवाद मात्र भएको थियो। निकै थकित देखिएका महराले त्यतिखेर खुलेर बोलेनन्। तर उनले आफू माथि लगाइएको आरोपको भने खण्डन गरे। सीआईबीका अधिकारीहरूसँग उनले आफूलाई यस विषयमा थाहै नभएको र दसौँ वर्ष पहिलेको कुरा याद पनि नभएको भनेर टार्न खोजे। छानबिन समितिले पनि यसअघि सीआईबीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेकै विषयलाई आधार बनाएर निर्देशन गरेको सीआईबी स्रोतको दाबी छ। चिनियाँ नागरिकले तस्करी गरी ल्याएको सुन प्रकरणमा महरा र उनका छोरा राहुल संलग्न रहेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सीआईबीले महरा बाबुछोराको संलग्नता देखाए पनि मुद्दा चलाउन आँट गरेन। त्यतिबेला यही विषयमा सरकारी वकिल र सीआईबीका प्रहरी अधिकारीबिच लामै रस्साकस्सी चलेको थियो।


सम्बन्धित समाचार