Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुनसहितको इलेक्ट्रिक भेप तस्करी अभियोगमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८ करोड ५५ लाख २८ हजार ३ सय ५४ रुपैयाँबराबरको सुनसहितको अवैध भेप तस्करी गरेको अभियोगमा महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको बताएको छ । उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरिएको हो ।
जेनजी विद्रोहपछि बनेको सरकारले राजनीतिक दलका नेतामाथि गरेको यो पहिलो एक्सन हो । यसअघि यस प्रकरणमा पटकपटक अनुसन्धान भएर महराका छोरा राहुलसहितका विरुद्ध मुद्दा दर्ता भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।
महरा यसअघि बलात्कार अभियोगमा लामो समय जेल बसेर छुटेका थिए । बलात्कार अभियोग पुष्टि नभएको अदालतको फैसलापछि छुटेका महरा २०४८ सालयता निरन्तर सांसद छन् भने सभामुख र पटकपटक मन्त्री भएका हाइप्रोफाइल नेतासमेत हुन् ।
यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यसअघि महराका छोरा राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, ६१ केजी सुन तस्करी प्रकरणमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यसबेला नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको थियो । यस्तै, दावाका सवारीचालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियारका रूपमा अभियुक्त बनाइएको थियो ।
दुबईबाट १० पुस २०७९ मा चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रूपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर, त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा सुन तस्करी प्रकरणमा कल डिटेल रेकर्डले महराको संलग्नता र भूमिका देखाएको थियो । तर, महरालाई मुद्दा चलाउनुपर्ने कुनै कारण नदेखिएको भन्दै प्रहरीले दिएको रायका आधारमा उनलाई उन्मुक्ति दिइएको थियो ।
महरा बाबु–छोराकै फोनबाट सो सुन तस्करी प्रकरणमा सुन छुटाउन पटकपटक कल भएको देखिन्छ । राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेर बयान कागज गराएको थियो । महरालाई भने सीआईबीले तथ्य प्रमाण नपुगेको भन्दै मुद्दा चलाउनु नपर्ने राय दिएको थियो ।
१० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट भेप छुटाउन महरा छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको थियो ।
भेप बरामद भएको १० पुसदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा पूर्वसभामुख महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको देखिएको थियो । सुन तस्करीमा संलग्न भनी किटान गरिएका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक र अर्का तस्कर दाओजिन वाङसँग त्यति नै पटक कुराकानी गरेको देखिएको थियो ।
त्यस्तै, सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र राहुलबीच यस अवधिमा १ सय ९५ पटक कुराकानी भएको पाइएको थियो । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गर्दा राहुलले वाङलाई १ सय ३१ पटक टेलिफोन सम्पर्क गरेको अभिलेख छ । वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका थिए । त्यसैगरी, वाङ र सवारीचालक पौडेलबीच ६ सय ५१ पटक कुराकानी भएको पाइएको थियो ।
सोही अवधिमा वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक, श्यामसुन्दर साहलाई ५२ पटक टेलिफोन गरेका थिए । साहले वाङलाई २ सय १ पटक टेलिफोन सम्पर्क गरेका पाइएको छ । साह तिनै व्यक्ति हुन्, जो राजस्व तिरेर वा लिलामी मिलाएर भेप छुटाउने भन्दै भन्सार अधिकृतलाई भेट्न गएका थिए ।
सुन तस्कर वाङले लुई, सावारीचालक पौडेल, साह र भन्सार एजेन्ट न्यौपानेलगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको पाइएको थियो । नेता महराका छोरा राहुलले सवारीचालक पौडेललाई ३६ पटक, राहुलले अशिन भन्ने व्यक्तिलाई तीनपटक र भन्सार अधिकृत श्रेष्ठलाई एकपटक सम्पर्क गरेका पाइएको थियो ।
सवारीचालक पौडेल र साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको थियो । साह र भन्सार एजेन्ट न्यौपानेबीच १ सय ३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा पेस भएको गोप्य मिसिलमा पनि सुन ल्याउने तस्करको समूहसँग महरा बाबुछोराको बारम्बार सम्पर्क भएको कल डिटेल्स रिपोर्ट सीडीआर पेस गरिएको छ । लुईले तस्करीका लागि वाङ भन्ने व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा तथा उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको कल डिटेल्स रिपोर्टमा उल्लेख छ । यति प्रमाणका बीच महराले उन्मुक्ति पाएका थिए ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल