Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्कने क्रममा एक सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै केही मिडिया र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले यसबारे स्पष्टीकरण दिएकी हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै काफ्लेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै भएको स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ। काफ्लेले नयाँ राजनीतिक शक्ति र उनीहरूका परिवारलाई पुरानै पात्रहरूसँग तुलना गरेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । ‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ’, उनी भन्छिन्, ‘विगत केही समयदेखि मलाई पुराना श्रीमती पात्रहरूसँग दाँजेर समाचारहरू बनाइएको छ, जुन नियोजित देखिन्छ ।’ देशको चौथो खम्बा मानिने सञ्चार माध्यमले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गरेकोमा उनले दुःख व्यक्त गरेकी छन्। गैरजिम्मेवार ढंगले कसैको मानहानि गर्नु गैरकानुनी भएको उल्लेख गर्दै उनले पत्रकारिताको स्तर सुधारिनुपर्नेमा जोड दिएकी छन् । उनी थप लेख्छिन्, ‘सत्यता नबुझी समाचार लेख्दा कसैको प्रतिष्ठामा आँच पुग्छ। म एउटा आमनागरिकको हैसियतले यो कुरा गर्दैछु किनभने यस्ता सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा होइन।’ राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा नेता र उनीहरूका परिवारको निगरानी हुनु स्वभाविक भए पनि गलत कुराको खेती गरेर चरित्र हत्या गर्नु निन्दनीय भएको काफ्लेको निष्कर्ष छ। उनले प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने बाटो भए पनि हाललाई सचेतनाका लागि मात्र यो स्पष्टीकरण दिएको बताएकी छन् ।
२०८३ असार ११
ताजा नेपाल
२०८३ असार ११
ताजा नेपाल
२०८३ असार ११
ताजा नेपाल