Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास बिक्री गर्न दिने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षा निकायलाई समेत खाना पकाउने ग्यास बिक्री वितरण गर्न दिने तयारी गरेको छ।

मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यासको आपूर्ति तथा वितरणमा असहज अवस्था आएमा सहज बनाउन सुरक्षा निकायमार्फत समेत ग्यास बिक्री वितरणको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।

शुक्रबार संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन्। सुरक्षा निकायका आउटलेटबाट खाना पकाउने ग्याससमेत बिक्री गर्न सकिने व्यवस्था मिलाउँदा आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज हुने मन्त्रालयको बुझाइ छ।

सचिव तामाङले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्र राख्ने गरी आवश्यक तयारी भइरहेको बताए।

सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर आपत्कालीन अवस्थामा बजारमा आपूर्ति सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ।