Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । विद्रोहको भावना अनुसार राजनीतिक संलग्नता नभएका तर समाजमा चिर परिचित पात्रको खोजी गर्दै सरकार विस्तारको तयारी भइरहेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् । उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् । पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेन(जीको बलमा कार्की प्रधानमन्त्री भएकी हुन् । यसअघि कुलमान घिसिङ ऊर्जामन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् । जेन(जी युवा अनिल बानियाँका अनुसार महावीरले पाँचथरमा रहेकै बेला मन्त्रीका लागि तयार रहेको संकेत गरेका छन् । उनले पाँचथर पुगेर किताब बेचिरहेको अवस्थामा मन्त्री बन्ने प्रस्ताव आएपछि सरकारमा सहभागी हुने जनाउ दिइसकेका छन् । किताब बेच्ने क्रममा पाँचथरमा रहेका बेला बेला पुनले मन्त्रालयको अफर आए उपयुक्त जिम्मेवारी सम्हाल्ने बताएका थिए। यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गरिने सम्भावना छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् । मन्त्री बन्न लागेकोबारे खरेलले आफ्नो नाम चर्चामा आएको स्वीकारेका छन् । उनले मन्त्रीको प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । खरेलले प्रधानमन्त्रीनिकटबाटै कुरा आएको स्वीकारे । अहिलेसम्म क्याबिनेटमा जाने दुई मन्त्रीको नाम करिब फाइनल भइसकेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पनि खरेल र पुनको नाम स्वीकारेकी छन्। उनले जेन जी युवा र विज्ञहरूसँग छलफल गरेर दुईजनाको नाम स्वीकारेकी हुन् । दुई व्यक्तिहरूलाई चाँडै मन्त्री बनाइने स्रोतले बताएको छन ।
कार्कीले आफ्नो सरकारमा चर्चित पाइलट विजय लामालाई पर्यटन मन्त्री बनाउने इच्छा राखेकी थिइन्। तर छ महिनामा केही पनि काम गर्न नसकिने भन्दै क्याप्टेन लामाले यो विषयमा अहिले निर्णय गरिनसकेको बताएका छन्। कार्कीले मात्रै होइन, जेन जी युवा र अन्य व्यक्तिले पनि लामालाई पर्यटन मन्त्री बन्न प्रस्ताव गरेका थिए। कार्कीको क्याबिनेटमा स्वास्थ्य मन्त्रालयका लागि डा. भगवान कोइराला र डा सन्दुक रुइतको नाम चर्चामा छ। कार्कीले दुवैजना डाक्टरहरूलाई भेटेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन भनिसकेकी छन्। तर रुइत र कोइराला दुवै मन्त्रीको जिम्मेवारी नलिने बताइरहेका छन् । रुइतले तिलगंगा आँखा अस्पताल छाड्न नसक्ने उत्तर दिएका छन् । उता भाटभटेनीका मालिक मीनबहादुर गुरुङको ठूलो आर्थिक सहयोगमा बाल अस्पताल बनाउन लागेका कोइराला दबाबमा छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल