Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । एउटा प्रजातान्त्रिक संस्कार बोकेको पार्टी नेपाली काँग्रेस संस्थापनको मनोमानीका कारण शिथिल बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जना गरेको पार्टीको संगठनात्मक गतिरोध अन्त्य गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय बन्न थालेका छन् । नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका महामन्त्रीहरूले विधानले दिएको अधिकार प्रयोग गर्दै बिहीबार जिल्ला सभापतिहरूको बैठक बोलाएर नेतृत्वप्रति दबाब खडा गरेका छन् । कतिपयले यसलाई पार्टीभित्र महामन्त्रीहरूको ‘रचनात्मक विद्रोह’ को संज्ञा दिएका छन् । पार्टी सदस्यतालाई प्रविधिमैत्री बनाउनेदेखि संगठनका गतिविधि र गुनासो सुन्न आयोजना गरिएको बैठक शुक्रबारसम्म चल्नेछ । नेतृत्वले एक वर्षदेखि केन्द्रीय कार्यसमितिको बैठक नबोलाउँदा कांग्रेसमा अहिलेसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षासमेत भएको छैन । त्यसयता घटित थुप्रै राजनीतिक घटनाक्रममा समेत केन्द्रीय कार्यसमितिको बैठक बोलाएर छलफल गरिएको छैन । सत्ता गठबन्धनको टुटफुट र राष्ट्रपति निर्वाचनलाई देखाएर बैठक टार्दै आएका सभापति देउवाले पछिल्लो समय भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका प्रभावशाली नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादित बहस पार्टीभित्र प्रवेश गराउन नचाहेकै कारण बैठक डाकेका थिएनन् । महामन्त्रीहरूले आफ्नो जिम्मेवारी र अधिकार प्रयोग गरेर गतिविधि बढाउन थालेपछि दबाबमा परेका देउवाले असार २७ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक राख्न तथा विधि, विधान र पद्धतिअनुसार पार्टी सञ्चालन गर्न बारम्बार गरेको आग्रह र सुझावको सुनुवाइ नभएपछि महामन्त्रीहरूले सभापति देउवालाई नै ‘क्रस’ गरेर अघि बढ्न खोजेको सन्देश दिएका छन् । जिल्ला सभापतिहरूको बैठक यसैको दोस्रो शृंखला हो । यसअघि उनीहरूले पार्टीका निर्वाचित स्थानीय तहका प्रमुखहरूसँग ‘भर्चुअल’ अन्तर्क्रिया गरेका थिए । तत्काल केन्द्रीय कार्यसमिति बैठक नबोलाइएको भए तेस्रो चरणमा महामन्त्रीहरूले केन्द्रीय सदस्यहरूलाई संगठन परिचालनका लागि देशभर खटाउने तयारीसमेत गरिरहेका थिए । संस्थापनपक्षीय एक पदाधिकारीका अनुसार महामन्त्रीहरूले जिल्ला सभापतिको बैठक बोलाउँदा पनि नेतृत्वलाई पूर्वजानकारी गराइएको थिएन । बैठक बोलाइसकेपछि मात्रै महामन्त्रीहरूले देउवालाई जानकारी गराउनुका साथै उपस्थितिका लागि आग्रह गरेका थिए । यी गतिविधिबाट सशंकित देउवा महामन्त्रीहरूले बोलाएको बैठकमा उपस्थित भएनन् । कांग्रेसका एक नेताले महामन्त्रीहरूले नेतृत्व गरेर जिल्ला सभापतिहरूको राष्ट्रिय बैठक सम्भवतः पहिलो पटक भएको बताए । महामन्त्री शर्माले भने सभापतिसँग परामर्श गरेरै बैठक राखिएको बताए । नेतृत्वसँग सल्लाह नगरी पार्टीको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको भेला गर्न असम्भव हुने बताउँदै उनले विधानले दिएको अधिकार र जिम्मेवारीअनुसारका काम गरिएको बताए ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल