Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूचना प्रविधि विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतवारको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरूको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फरक मत राख्ने सांसदहरूको आठवटा बुँदा सरकारले स्वीकार गरेको बताए । लोकतान्त्रिक मूल्य पद्धतिविरुद्ध विधेयक बनाएर पेस गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनले स्पष्ट पारे । ‘यो देशको कानुन हो, सत्ता पक्षको मात्र कानुन होइन, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्याल हुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन’– मन्त्री बाँस्कोटाले भने । फरक मत राख्ने सांसदहरूले पनि भित्र–भित्र विधेयक पारित भए हुन्छ भन्ने मान्यता राखेको उल्लेख गर्दै राजनीतिक कारणले विरोध गरेको हुन सक्ने उनले बताए । विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरू सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन माग गरेका थिए । विधेयकका बारेमा दफाबार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेस गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए । संविधानको मर्मविपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत रहेको समेत उनले आरोप लगाए । फरक मतलाई संसद्को अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे । सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मतरूपमा पारित गर्ने व्यवस्था गर्न माग गरेका थिए । सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य–मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाइन् । सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको बताए । समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनको भनाइ थियो । सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानुन नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने बताए । विधेयकका बारेमा दफाबार छलफल गर्न गठित उपसमिति संयोजकसमेत रहेकी सांसद बिनाकुमारी श्रेष्ठले बुँदा–बुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेस गरिएको बताइन् । सांसदहरू यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिएका थिए । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेस गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल