Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सैनिक सहचारी नियुक्ति विवादले सेनामा भाँडभैलो

काठमाडौं। सैनिक सहचारी नियुक्तिका विषयलाई लिएर नेपाली सेनाभित्र भाँडभैलो मच्चिएको छ । विभिन्न सात मुलुकमा सैनिक सहचारी नियुक्त गरेसँगै बढेको असन्तुष्टि र विवादमा सोही प्रतिष्पर्धामा रहेका एकजना सैनिक उच्च अधिकृतले पदबाटै राजीनामा दिएका छन्। नेपाली सेनाले विदेशस्थित नेपाली कुटनीतिक नियोगमा सैनिक कुटनीतिको कार्य गर्ने गरी सैनिक सहचारीहरु नियुक्त गरी पठाउने गर्दै आएको छ। यसका लागि योग्यतम उच्चअधिकृतहरुबीच प्रतिष्पर्धा गराएर ती पदहरुमा छनौट गर्ने गरिएको छ। महासेनानी सुवास थापाले पनि प्रतिष्पर्धामा भाग लिएका थिए। तर उनलाई छनौट गरिएन। नेपाली सेनाको विशेष फौज रेन्जरका निकै दक्ष व्यक्ति मानिँदै आएका कर्णेल थापाले आफू छनौट नपरेपछि पदबाटै राजीनामा दिएका हुन् । उनको राजीनामा मन्त्रिपरिषद्को असार २३ गतेको बैठकले स्वीकृत गरिदिएको छ। केही दिनअघि नै राजीनामा दिएका थापालाई राजीनामा फिर्ता लिन रक्षामन्त्री ईश्वर पोखरेलले समेत आग्रह गरेको थिए। यसअघि सहायक जर्नेल स्तरका अधिकृतहरु कार्यरत रहेको चीन र भारतमा दर्वन्दी नै एकतह घटुवा गरी महासेनानी अर्थाते फुल कर्णेल दर्जालाई पठाइने भएको छ। ती दुबै देशका तर्फबाट कर्णेल तहकै सैनिक नेपालमा कार्यरत रहेकाले सोही तहको व्यक्ति नेपालले पनि पठाउने निर्णय भएको बताइएको छ। नेपाली सेनाले चीनका लागि कर्णेल मोहन क्षेत्री र भारतका लागि कर्णेल रामचन्द्र खत्रीलाई सैनिक सहचारी नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी बंगलादेशमा कर्णेल रोशनसमशेर राणा, पाकिस्तानमा कर्णेल अमृत गुरुङ्ग, अमेरिकामा कर्णेल भुवनपूर्ण सत्याल, संयुक्त राष्ट्र संघको लागि जगदीश खड्का नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले हाल भारतमा सैनिक सहचारीका रुपमा कार्यरत सहायक रथी ईश्वरकान्त मैनाली तथा सवारी साधनको कारखाना प्रमुखका रुपमा कार्यरत सहायक रथी भोलानाथ बुढाथोकीको पदावधि थप गर्ने निर्णय पनि गरेको छ।