Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थानीय तहको भूमिका उल्लेख्य : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समग्र समाज र राष्ट्रकै हितमा समर्पित समुदाय(प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनमा स्थानीय तहबाट उल्लेख्य भूमिका विर्वाह भएको बताउनुभएको छ ।
काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुखहरुसँग सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विभिन्न चरणमा व्यापक छलफल गरी विविध उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमले छोटो समयमा वृहद उपलब्धी हासिल गरी संस्थागत रुपमा विकास भइसकेको धारणा व्यक्त गर्दै यस नवीन अवधारणालाई अन्य देशले समेत अवलम्बन गर्दा राम्रो हुने विचार व्यक्त गर्नुभयो । विगतका कामको समीक्षा र भावी कार्यदिशाको अझ बढी दायित्व वहन गर्दै अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले स्थानीय तहको सहयोग, समन्वय, सहकार्य र उपस्थितिले काम गर्न अझै हौसला र उर्जा मिलेको बताउनुभयो । प्रविधि र प्रहरी उपस्थितिलाई एकसाथ लैजाने नीति साझेदारीले अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन, लागूऔषध र मदिरा नियन्त्रण, पुर्नस्थापना केन्द्र स्थापना, मानव बेचबिखन नियन्त्रण, फरार अपराधी पक्राउ लगायतका विषयमा विशेष अभियान संचालन अन्तर्गत त्रैमासिक योजना ल्याइएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा उपस्थित नगरपालिका प्रमुखहरू, उपप्रमुखहरु, गाउँपालिका अध्यक्षहरुले समुदाय(प्रहरी कार्यक्रम निकै प्रभावकारी र फलदायी भएको चर्चा गर्दै निर्दिष्ट लक्ष्य र उद्देश्यका साथ शान्ति सुरक्षामा सहयोग पुर्‍याउन ल्याइएको यस कार्यक्रमलाई स्थानीय तहबाट गर्नुपर्ने भूमिका पूर्णरुपमा निर्वाह गरी सहयोग पुर्‍याउने प्रतिवद्वता व्यक्त गर्नुभयो । बजेट व्यवस्थापन देशभरका स्थानीय तहमा सक्षमता र आवश्यकता अनुसार विविध क्रियाकलाप भइरहेको चर्चा गर्दै उहाँहरुले स्थानीय तह र प्रहरीले मिलेर गर्नुपर्ने काम, सहकार्य र समन्वयका विषयमा विविध सुझाव प्रस्तुत गर्नुभयो ।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका प्रारम्भिक उपलब्धीहरु, प्रणालीगत विकास, समुदायमा वृहत पहुँच, उपत्यका सन्दर्भ उल्लेखनीय उपलब्धीहरु, चुनौतीहरु र साझेदारीका भावी क्षेत्रहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक(प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन, जनचेतनामूलक कार्यक्रम संचालन, बजेट विनियोजन, विपद व्यवस्थापन, सडक सुरक्षा, साधन स्रोत व्यवस्थापन, प्रहरी दरवन्दी थप, पुर्नस्थापना केन्द्र स्थापना, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग, सिसिटिभी जडान, ट्राफिक लाइट, प्रहरी र नगर प्रहरीबीच समन्वय, लागूऔषध तथा घरेलु मदिरा नियन्त्रण, चोरी डकैती नियन्त्रण, फरार अपराधी पक्राउ लगायतका विषयमा घनीभूत रुपमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रमलाई अझै परिष्कृत र परिमार्जन गर्दै लैजाने क्रममा संस्थागत विकासका लागि स्थानीय तह र नेपाल प्रहरीको एकीकृत अवधारणा एवं प्रभावकारी कार्यान्वयन गर्ने उक्त अन्तरक्रियाको साझा दृष्टिकोण रहेको छ ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, उपत्यकास्थित विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू एवं गाउँपालिकाका अध्यक्षहरु, तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, टोखा नगरपालिकाका कानुनी सल्लाहकार, बरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार