Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावमा भ्रातृ संगठनहरू धमाधम तालमेल गरिरहेका छन् । मिनी निर्वाचनका रुपमा लिइने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि सत्तारुढ दुई ठूला दल र प्रतिपक्षीहरूले पनि आफूअनुकूल चुनावी तालमेल गरेका छन् । स्ववियुको परिणाम आ–आफ्नो पक्षमा पार्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रविभिन्न क्याम्पसहरूमा तालमेल गरेर चुनावी मैदानमा होमिएका छन् । स्ववियु निर्वाचनमा कतै सत्तारूढ दुई ठूला दलहरू तेस्रो ठूलो दल माओवादीलाई साइजमा राख्न मिलेका छन् भने कतै कम्युनिस्ट विचार बोकेका एमाले र माओवादी पहिलो ठूलो दललाई हराउन तालमेलमा उत्रिएका छन् । स्ववियु चुनाव आफूअनुकूल बनाउन कतै संसदीय निर्वाचनमा जस्तै गरी कांग्रेस र माओवादी तालमेलमा छन् भने कतै एमाले आफैँसँग छुट्टिएको नेकपा (एकीकृत समाजवादी) सँग मिलेको छ । सत्ता साझेदार कांग्रेस र एमालेका विद्यार्थी संगठनहरूले सिन्धुपाल्चोकका क्याम्पसनै भाग लगाएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिन्धुपाल्चोकमा तालमेल गरेर ६–६ क्याम्पस भाग लगाएका हुन् । नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनी र अनेरास्ववियु अध्यक्ष रविन वाईबा तामाङबीच सिन्धुपाल्चोकका १२ वटामध्ये ६–६ क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । उनीहरूबीच सभापति लिने संगठनले सचिव र कोषाध्यक्ष नलिने तथा सदस्यहरू बराबरी बाँडफाँड गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्रमा संगठनको समानुपातिक मतभार नरही निर्वाचनमा सभापति लिइएको संगठनबाट सह–सचिव पदमा र सचिव, कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा मनोनीत गरिने उल्लेख छ । सत्ता साझेदार कांग्रेस र एमालेले स्ववियु निर्वाचनका लागि भोजपुरमा पनि चुनावी गठबन्धन गरेका छन् । उनीहरूले भोजपुर बहुमुखी क्याम्पसमा चुनावी गठबन्धन गर्दै अशोककुमार कार्कीलाई अध्यक्षमा अघि सारेका छन् । उदयपुरमा एमालेलाई एक्ल्याउन कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेका छन् । उनीहरूले उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको नारद आदर्श क्याम्पसमा एमालेविरुद्ध चुनावी तालमेल गरेका हुन् । नारद आदर्श क्याम्पसमा एमालेनिकट अनेरास्ववियु प्यानलसहित एक्लै चुनावी मैदानमा उत्रिएको छ । अनेरास्ववियुले स्ववियु अध्यक्षमा केवल तामाङलाई उम्मेदवार बनाउँदा तीन दलीय गठबन्धनले अध्यक्षमा अखिल क्रान्तिकारीका ज्ञान्दीप थुलुङलाई अघि सारेको छ । गठबन्धन बनाएर नेविसंघले सचिव र समाजवादी विद्यार्थी युनियनले कोषाध्यक्ष लिएको छ । सत्तारूढ एमालेलाई एक्ल्याउन पाँचथरमा सत्ता साझेदार कांग्रेस प्रमुख प्रतिपक्षी माओवादीसँग तालमेल गरेको छ । पाँचथर क्याम्पसका लागि भएको कांग्रेस–माओवादीको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संघीय लिम्बूवान राष्ट्रिय मञ्चले सघाएका छन् । उता, रोल्पामा सत्तारूढ एमाले र प्रतिपक्षी माओवादीबीचमा चुनावी तालमेल भएको छ । उनीहरूले कांग्रेसलाई स्ववियु निर्वाचनमा पराजित गर्न रोल्पाका चार क्याम्पसमा तालमेल गरेका हुन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सनिदेवल बुढामगरले हस्ताक्षर गरेको सहमति पत्रमा एक क्याम्पसमा अनेरास्ववियुले र बाँकी तीनमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने उल्लेख छ । सहमतिअनुसार रोल्पाको नव नेपाल क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिएको छ । अखिल क्रान्तिकारीले जलजला, रोल्पा नमुना र सहिद स्मृति क्याम्पसको नेतृत्व पाएको छ ।
२०८१ चैत्र १
ताजा नेपाल
२०८१ चैत्र १
ताजा नेपाल
२०८१ चैत्र १
ताजा नेपाल