Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य कर्मी भोकभोकै खटिदै

काठमाण्डौ । सिहं दरबार भित्र बैठक बस्नसाथ ठूलो कर्मचारी र मन्त्रीहरुको भत्ता पाक्छ । उनीहरुलाई भत्ता बुझ्न जानु पर्दैन । लेखाका कर्मचारीहरुले बुझाउन कार्यकक्षमा पुग्छन् तर जसले जनताको सेवा गरेको छ त्यसका निम्ति न सरकारले भत्ता दिन्छ । न खटाएको संस्थाबाट समयमा तलब पाउछन् । यस्तै पिडा गत वर्षदेखि कोरोनाको उपचारमा खटिएका गुल्मीका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन सकेका छैनन् । बिहीबार गुल्मीमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले गत वर्ष कोरोनाको परीक्षण तथा उपचारमा खटिएका कर्मचारीलाई अहिलेसम्म तलब खुवाउन नसकिएको गुनासो पोखेका हुन् ।

स्थानीय तहका प्रमुखहरुलाई लक्षित गर्दै उनले भने तपाइँहरुको निर्णयअनुसार ल्याब सञ्चालन गरिएको थियो । तर पैसा नआउँदा मैले स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलब खुवाउन सकिनँ । कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई विना तलब काममा लगाउनु ठुलो पाप भएको बताउँदै त्यो पाप पखालिदिन उनले आग्रह गरेका छन् । उनले गत वर्ष उपल्लो तम्घासको पीसीआर परीक्षणसहितको आइसोलेसनमा खटिएका १५ जना स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन् । गत वर्ष सदरमुकाम तम्घासमा जिल्लाको विशेष आइसोलेसन कक्ष सञ्चालनका लागि १० गाउँपालिकाले १०/१० लाख र दुई नगरपालिकाले १५ लाखका दरले रकम दिने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये मुसिकोट नगरपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकाले ५/५ लाख रुपैयाँ दिन बाँकी रहेकाले स्वास्थ्य कर्मचारीको ५० प्रतिशत तलव भुक्तानी गर्न बाँकी रहेको जनाइएको होे । गुल्मीमा पछिल्लो २४ घण्टामा ४५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो दुई हप्तामा गुल्मीमा संक्रमितको संख्या १६५ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा. भवानीप्रसाद शर्माले बताएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जिल्ला अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बिहीबार सर्वपक्षीय बैठक सम्पन्न भएको र बैठकले निषेधाज्ञाका लागि सिफारिस गरेको जानकारी दिएकी हुन् । बैठकले रकम अभावका कारण बन्द भएको जिल्लाको एकमात्र पीसीआर परीक्षण केन्द्र ल्याब गाउँपालिकाहरु बाट २/२ लाख र नगर पालिकाबाट ३/३ लाख रकम दिनेगरी पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले रेसुङ्गा नगरपालिका–८ मा कोरोना संक्रमण विकराल देखिएको बताएका छन् । मेयर डिल्लीराज भुसालका अनुसार वडा नम्बर ८ मामात्रै ४० जनाभन्दा बढी संक्रमित छन् । बैठकमा सत्यवती गाउँपालिकाबाहेक १० वटाका पालिका प्रमुख र कालीगण्डकीका प्रतिनिधि सहभागी थिए । दलका नेता र जनप्रतिनिधिहरुले गुल्मीबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको चर्को आलोचना गरेका थिए । उनीहरुले कोरोना नियन्त्रणको नाममा संघीय तथा प्रदेश सरकारले एक सुको सहयोग नगरेको भन्दै सबै भार स्थानीय तहलाई बोकाइएको गुनासो गरेका हुन् ।


सम्बन्धित समाचार