Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वासिङ्टन। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलमार्गलाई केन्द्रमा राखेर अमेरिका र इरानबीचको तनाव झन् बढेको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि लगातार तेस्रो रात पनि हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम)का अनुसार कारबाहीको उद्देश्य हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु तथा इरानको तटीय सैन्य क्षमतालाई कमजोर बनाउनु हो।
इरानी सञ्चारमाध्यमहरूले किश, जाम, कस्म, बुसेहर र बन्दर अब्बास क्षेत्रमा शक्तिशाली विस्फोट भएको दाबी गरेका छन्। सेन्ट्रकमका अनुसार पछिल्ला आक्रमणमा तटीय सुरक्षा चौकी, भूमिगत बंकर तथा जलमार्गमा जहाज आवागमन अवरुद्ध गर्न प्रयोग हुने सैन्य संरचनालाई लक्षित गरिएको थियो।
यता इरानले पनि अमेरिकी आक्रमणको प्रतिकार गरेको दाबी गरेको छ। इरानी सेनाले कुवेतस्थित अमेरिकी सैन्य अखडा तथा समुद्रमा रहेका अमेरिकी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी मिसाइल प्रहारबाट आफ्नो एउटा तेल ट्यांकरमा क्षति पुगेको र एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानभित्र रहेको भूमिगत आणविक केन्द्रलाई समेत निसाना बनाउन सकिने चेतावनी दिएका छन्। उनले इरानमाथिको सैन्य कारबाही जारी रहने संकेत गर्दै आवश्यक परे थप कडा कदम चालिने बताएका छन्।
ट्रम्पले हर्मुज जलमार्ग खुला राख्ने दाबी गर्दै इरानी जहाज तथा इरानसँग सम्बन्धित जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरिने घोषणा गरेका छन्। उनले अमेरिकाले आफूलाई ‘हर्मुज जलमार्गको संरक्षक’को भूमिकामा राख्ने उल्लेख गर्दै उक्त मार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट सुरक्षा शुल्क उठाउने निर्णयसमेत सार्वजनिक गरेका छन्।
उता इरानको शीर्ष सैन्य मुख्यालय ‘खातम अल-अन्बिया’ले अमेरिकी घोषणाको कडा विरोध गरेको छ। इरानी पक्षले हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै अमेरिकाको कदमले सम्पूर्ण क्षेत्रीय सुरक्षामा गम्भीर जोखिम निम्त्याएको जनाएको छ।
इरानले अमेरिकी नाकाबन्दीमा सहयोग गर्ने कुनै पनि मुलुकलाई आफ्नो सार्वभौमसत्ताविरुद्धको कदमका रूपमा लिइने चेतावनी दिएको छ। साथै, द्वन्द्व थप फैलिएको अवस्थामा यस क्षेत्रका अन्य मुलुकहरू पनि यसको असरबाट अछुतो नरहने दाबी गरेको छ।
विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक मानिने हर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
२०८३ असार ३०
ताजा नेपाल
२०८३ असार ३०
ताजा नेपाल
२०८३ असार ३०
ताजा नेपाल