Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हल्लै हल्लाले सकियो एउटा उद्योगीको सपना

काठमाडौं । यो हल्लै हल्लाको देश हो । त्यही हल्लाले एउटा उद्योगीको सपना चकनाचुर भएको छ । नेपाली कांग्रेसका सभापति जयवीर देउवाले गर्दैनगरेको लगानीको मिडिया र सामाजिक सञ्जालमा गलत प्रचार हुँदा भर्खरै खुलेको अमेरिकी चेन होटल ‘हिल्टन’ ध्वस्त भएको छ । नयाँ युवा पुस्ता ‘जेन–जे’को आन्दोलनको क्रममा प्रदर्शनकारीले लक्जरियस होटल ‘हिल्टन’मा समेत आगो लगाएर ध्वस्त बनाएका छन् । यो होटल गत बर्ष साउनमा सञ्चालनमा आएको थियो । शंकर ग्रुपको आठ अर्ब लगानीमा निर्माण भएको हिल्टन अमेरिकी चेन ब्राण्ड हो । प्रहरी मुख्यालय नजिकै रहे पनि ‘जेन–जे’ पुस्ताको प्रदर्शन उग्र हुँदा प्रहरीले सुरक्षा दिन असफल भएको थियो । राजनीतिक बेथिति, भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा गरिएको बन्दविरुद्ध आन्दोलन घोषणा गरेका उनीहरुको पहिलो दिनको प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा १९ जना युवाको ज्यान गएपछि दोस्रो दिन भडकिएको प्रदर्शनले हिल्टन होटलसहित निजी क्षेत्रका भाटभटेनीका स्टोरहरु, टेलिकम कम्पनी एनसेलको मुख्यालय, विद्यालय, गाडीहरुको शोरुम जस्ता निजी सम्पत्तिहरुमा समेत आक्रमण गरिएको थियो ।
हिल्टन आक्रमण पर्नुको मुख्य कारण भने यसमा जयबीरको समेत लगानी भएको भन्ने तथ्यहीन समाचारहरु सामाजिक सञ्जालमा व्यापक भएकाले देखिन्छ । यस्तो लगानीको कुनै प्रमाण भने अहिलेसम्म बाहिर आएको छैन । शंकर समूहले पनि विज्ञप्तिमार्फत होटलमा जयवीरको कुनै पनि लगानी नरहेको भन्दै तत्कालै प्रष्ट पारेको थियो । तर ‘जेन–जे’ आन्दोलनका क्रममा आक्रामक भीडले भने उक्त होटलमा आगलागी गरेर ध्वस्त बनाइदिएका छन् । होटलमा लगाइएको आगो अझै पनि निभेको देखिन्न । धेरै दिनदेखि होटल बलिरहेकाले सो क्षेत्रमा मानिसहरु आवतजावत गर्न पनि सुरक्षाकर्मीहरुले रोक लगाएको छ । जुनसुकै बेला होटल ढल्नसक्ने र होटलका संरचना खसेर लाग्नसक्ने भन्दै उनीहरुले सो सडकबाट मानिसहरुलाई हिँड्न नदिएको हो । आगलागी भएपछि सेनाले पर्यटकहरुलाई हेलिकप्टरबाट उद्दार गरेर सुरक्षित स्थानमा सारेको थियो । आगलागीबाट होटलमा रहेका सवारी साधनमात्रै नभएर महंगा महंगा सामग्रीहरु समेत नष्ट हुनुका साथै सो होटलमा काम गर्ने सयौं कर्मचारी बेरोजगार बनेका छन् । होटलमा भएको आगजनीबारे भने शंकर समूहले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । धेरै खर्च गर्नसक्ने विदेशी पर्यटकहरुलाई लक्षित गरेर बनाइएको यो होटल निकै सुविधासम्पन्न र आकर्षक थियो । सत्र तलाको हिल्टन होटलमा १७४ कोठा थिए । सन् २०१८ बाट निर्माण सुरु गरिए पनि कोरोना महामारीका कारण होटलको निर्माण अवधि र लागत बढेको थियो । यो होटल बेलायतको हिल्टन वल्ड्रवाइड म्यानेजमेन्ट लिमिटेडले व्यवस्थापन गर्दै आएको थियो । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटी नामक कम्पनीको स्वामित्वमा रहेको यो होटलको उक्त कम्पनीमा साहिल अग्रवालको ९० प्रतिशतको लगानी थियो भने बाँकी अन्यको थियो । उक्त होटलमा भएको लगानीले नेपालको होटल उद्योगमा संत्रास छाउनुका साथै पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् । यद्यपि उनीहरु अहिलेको विषम परिस्थितिमा प्रतिक्रिया दिनसक्ने अवस्थामा देखिन्नन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल