Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं कार्यक्रम नसकिँदै फरार भए। उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ। प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन। दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक आईजीपी दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए। त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो। उक्त मन्दिरको खोजी गरिएको प्रहरीको दाबी छ। उनी तीनकुनेमा हिंसात्मक प्रदर्शन भएकै राति कान्ति लोकपथको बाटो हेटौँडा हुँदै भारत प्रवेश गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रसाईंले भने सोमबार बेलुका अर्को स्टाटस सार्वजनिक गरेका छन्। ९ बजेपछि सार्वजनिक भएको स्टाटसमा उनले आफू नेपालमै रहेको जिकिर गरेका छन्। शुक्रबार पक्राउबारे निर्णय गर्न ढिलाइ हुँदा प्रसाईं भाग्न सफल भएको प्रहरीको दाबी छ। त्यसदिन तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याएका उनी त्यसपछि कार्यक्रमस्थलमा देखिएका थिएनन्। उनलाई पक्राउ गर्न लागिएको भन्दै भीडको बलमा भागेर एउटा घरको सटरभित्र लुकेका थिए। त्यहाँबाट लुकेर उनी र धर्मगुरु पुष्कर इमाडोलस्थित पुष्करको घरमा पुगेको प्रहरीको दाबी छ। अन्य प्रमाणले पनि उनीहरू त्यहाँ पुगेको पुष्टि हुने प्रहरीको दाबी छ। त्यहाँ आफ्ना सहयोगीसहित पुगेका प्रसाईं फलफूल र चिया खाएर निस्किएपछि कहाँ पुगे भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन। तर प्रसाईं भने दिनदिनै सामाजिक सञ्जालमा सन्देश छाडिरहेका छन्। संसदमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चैत १५ गते दुईजनाको ज्यान लिने घटनामा जोजो संलग्न भ एपनि कारबाही गरेरै छाड्ने बताएका छन्। प्रहरीले अहिलेसम्म यो घटनामा ४१ जनाविरुद्ध मुद्दा चलाइसकेको छ। दुर्गा प्रसाईंका सुरक्षा दस्ताका कमान्डरसहित चारजना पक्राउ परिसकेका छन्। सोमबार उनका सहयोगी देवी संग्रौलालाई पनि प्रहरीले उनकै निवास भैँसेपाटीबाट पक्राउ गरेको छ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल