Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्तब्ध, हर्ष–विभोर, तनाव, मौन अनि उत्साह । दशरथ रंगशालामा आइतबार उपस्थित करिब २० हजार नेपाली दर्शकले भावनाका यी सबै तरंग दुई घण्टामा अनुभूत गरे ।
खेल यो हदसम्म पुग्छ भन्ने सायदै कसैको अनुमान थियो । नेपालमा आयोजित प्रतियोगिता यस्तो विन्दुमा पुग्नु विरलै पुग्लान् । सन्दर्भ हो, साफ महिला च्याम्पियनसिपअन्तर्गत दुई चिर–प्रतिद्वन्दी नेपाल र भारतबीचको प्रतिस्पर्धाको ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको क्षमता १५ हजार दर्शकको मात्रै हो । तर, आइतबारको साफको यो दोस्रो सेमिफाइनलले दशकअघि आयोजना हुने नेपाली शीर्ष डिभिजनमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको प्रतिस्पर्धा स्मरण गराइरहेको थियो ।
भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा रंगशालामा उपस्थित दर्शक उत्साहको उच्च विन्दुमा रहे । पेनाल्टीमा नेपालबाट प्रहारका लागि आएका चारै खेलाडीले गोल गरे । सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्की ।
भारतबाट भने चारमध्ये दुई खेलाडीमात्र गोल गर्न सफल रहे । जसमा मनिषा र पुरुषोत्तम सिर्भोइकर रहे । कप्तान आशालता देवीको प्रहारमा पोस्ट बाधक बन्दा चानु सोरोखैबमको प्रहार भने नेपाली गोलकिपर अञ्जना रानामगरले विफल बनाइन् । तर, यो नतिजा नै सम्पूर्ण कथा भने होइन ।
आइतबार खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदासम्म स्थिति समान्य नै थियो । तर, ५२औँ मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि खेलले बेग्लै रुप लियो ।
भारतीय डिफेन्स लाइनमा विपक्षी डिफेन्डरमाथि जब्बर हवाई जम्प गर्दा उनलाई भुटानी फिफा रेफ्री ओम चोकीले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड देखाउन हिचकिचाहट देखाइनन् । त्यसअघि उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो पहेलो कार्डको सामना गरेकी थिइन् ।
रेखा बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो । रेखाले पाएको कार्डप्रति असन्तुष्ट बनेका दर्शकले ५२औँ मिनेटदेखि नै मैदानमा पानी र कोल्ड ड्रिक्सका बोतल प्रहार गरेका थिए । जसका कारण खेल करिब १५ मिनेट रोकिएको थियो । खेल पुनः सुरु हुँदा नेपालले १० खेलाडीमा खेलेको थियो ।
६२औँ मिनेटमा भारतकी संगीता बासफोरेले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेकी थिइन् । गोलपछि सेलिब्रेसन गर्न भारतका सबै खेलाडी मैदान छोडेर बाहिर आए । यही स्थितिमा नेपालले रेफ्रीको अनुमतिमा खेल सुरु गर्दै भारतीय खेलाडी नहुँदाको अवसर सदुपयोग गरेर गोल गरेको थियो । नेपालकी प्रीति राईले गोल गर्दै टिमलाई बराबरीमा फर्काएकी थिइन् । तर, रेफ्रीको प्ले अनमा खेल सुरु भए पनि नेपालको गोललाई भने मान्यता दिइएन । यसपछि उब्जिएको तनावले खेल पुनः ५ मिनेटभन्दा धेरै समयका लागि रोकियो ।
रेफ्री गोललाई मान्यता नदिने निर्णयमा अडिग रहे । नेपालले पुनः मध्यबाट खेल सुरु गर्यो । तर, खेल सुरु भएको केही सेकेन्डमै दर्शकबाट पुनः बोतल र कोल्ड ड्रिंक्सका बोतल फ्याक्न थालेपछि खेल फेरि रोकिएको थियो । यसपछि भने नेपाली खेलाडीले पनि खेललाई निरन्तरता दिने मनसाय देखाएनन् ।
दर्शकबाट बनेको तनावग्रस्त वातावरण र नेपाली खेलाडी पनि रुष्ट बन्दा खेल १ घण्टा १५ मिनेटसम्म सुरु हुन सकेन । रंगशालामा उपस्थित भएकाहरूका निम्ति यो कुनै आश्चर्यभन्दा कम थिएन । यस अवधिमा नेपालकी सावित्रा भण्डारी मैदान नै छोडेर चेन्जिंग जाने आउने गरिरहेकी थिइन् ।
रेफ्रीले गोल नदिनुमा दुई कारण देखाए । पहिले विपक्षी टिमका प्रशिक्षक मैदानभित्र रहेको र दोस्रो अर्को टिमको गोलकिपर आफ्नो पोजिसनमा नभएको । यी दुवै कारण नियमअनुसार थिएनन् । यसैकारण हाम्रा खेलाडी खेल अघि नबढाउने मनसायमा पुगे, मैदानमा भएको घटनाबारे स्पष्टीकरण दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने ।
१ घण्टा १५ मिनेट रोकिएपछि खेल पुनः सुरु भयो । भुटानी रेफ्रीले ६३औँ मिनेटबाट खेल पुनः सुचारु गरेका थिए ।
हाम्रा खेलाडी खेललाई निरन्तरता दिन मानिरहेका थिएनन् । तर, आयोजक साफबाट खेलको नतिजा भारतको पक्षमा जाने र आगामी प्रतियोगितामा निलम्बितसमेत हुनसक्ने भन्दै तर्साएपछि भने हामीले नेपालको एफएको इज्जतको लागि भए पनि खेललाई निरन्तरता दिने निर्णयमा पुग्यौँ, खेलमा फर्किनुको कारणबारे प्रशिक्षक तामाङले भने ।
खेल सुरु भएको अर्को मिनेटमा नै १० खेलाडीमा खेलिरहेको नेपालले बराबरी गोल फर्कायो । प्रीति राईले मध्यक्षेत्रबाट निकालेको थ्रू बललाई सावित्राले नियन्त्रण लिँदै सुन्दर काउन्टर गोल गर्दा नेपाल खेलमा फर्किएको थियो । यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल भएन । अनि नतिजाका लागि पेनाल्टीको आवश्यकता परेको थियो ।
तनावका बिच भारतलाई हराउँदै नेपाल फाइनलमा
सन् २०१० को पहिलो संस्करण, २०१२ को दोस्रो संस्करण, २०१४ को तेस्रो, २०१९ को पाँचौ । यी सबै साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई भारतले पराजित गर्दै उपाधि विमुख बनाएको थियो । अझ, २०१६ को चौथो संस्करणमा फाइनल पुग्नसमेत भारत नै बाधक बन्यो ।
उपाधिमा सँधै बाधक बनेको छिमेकीसँगको यिनै नतिजाले गर्दा हो, नेपाल र भारतबीच महिला फुटबलमा चर्को प्रतिस्पर्धा हुने । सायद यो आगोमा दुई देशबीचको कूटनीतिक सम्बन्धले पनि केही हदसम्म घ्यू थपेको छ । जे होस्, दक्षिण एसियाली महिला फुटबलमा यी दुई छिमेकी देशबीचमा रहेको जस्तो प्रतिस्पर्धा अरु देशको छैन ।
आइतबारको खेलपछि नेपाली प्रशिक्षकभन्दा शान्त र संयमित देखिएका भारतीय प्रशिक्षकले भने नेपाली दर्शकको तारिफ गरे । उनले खेल करिब डेढ घण्टा रोक्न बाध्य बनाउने समर्थकप्रति कुनै दोष थुपारेनन् ।
फुटबलमा कहिलेकाहीँ यस्तै हुन्छ । तर यस्तो घटनामा सँधै अग्रतामा भएको टिम असरमा पर्छन् । मेरो अनुभवले पनि त्यही भन्छ । समर्थकले घरेलु टिमलाई राम्रो साथ दिए, भारतीय प्रशिक्षक सन्तोष कश्यपले भने, एक देशका लागि यो ठूलो कुरा हो । किनकी म सँधै भारतमा यो कुरा मिस गर्छु । भारतमा महिला फुटबल टिमले खाली रंगशालामा खेल्नुपर्छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल