Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेलाई कतै ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो त हुने होइन ? उनका समर्थकहरू यही चिन्तामा छन् । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा मागेका थिए । अदालतले आदेश गरेर पनि सरकारले लामो समय आलटाल गरे । चौतर्फी दबाबपछि हिजो मात्रै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो । पहिलो रात रविका लागि सुखद रहेन । शनिबार ढिलो कारागार पुर्याइएका कारण रविलाई अन्य ४१४ जना कैदी, बन्दी राखिएकै ब्लकमा कोचियो । नख्खु कारागारका जेलर भीम कोइरालाका अनुसार लामिछानेको सुरक्षा र स्वास्थ्यलाई ख्याल गरेर आजदेखि उपयुक्त स्थानमा राखिँदैछ । कारागारभित्र उपलब्ध सेवा र सुविधाभित्रै उहाँको सहजताको खोजी गर्छौं, उनले भने, हिजो अलिक व्यवस्थापन गर्न सकेनौँ, आजदेखि सहज हुन्छ । कारागार व्यवस्था विभाग स्रोतका अनुसार लामिछानेले ‘सिंगल रुम’ पाउनेछन् । रुमभित्र एउटा सुत्ने खाट मात्रै हुनेछ । एसी, पंखा, कुलरजस्ता सुविधा कारागारले दिनेछैन । स्रोतले भन्यो, यस्तो सुविधाका लागि कि मन्त्रालयले अलग्गै बजेट निकासा गरेर पठाउनुपर्छ, कि स्वयं थुनुवाले व्यवस्था गर्नुपर्छ, कारागारले कसैलाई पनि दिन सक्दैन । अत्यधिक गर्मी रहेको भैरहवा कारागारमा रविलाई दुईवटा पंखा दिइएको थियो । यस्तै, उनलाई सुरुबाटै फोन र छुट्टै शौचालयको सुविधासमेत दिइएको तथा भेटघाट सहज बनाइएको कारागारले दाबी गरेको छ । नख्खु कारागारमा ती सुविधाहरू प्राप्त हुने सम्भावना छ कि छैन भनेर हामीले जेलर कोइरालासँग जिज्ञासा राख्यौँ । उनले जवाफ दिए, कारागार ऐन, नियमावलीअनुसार सुरक्षा र स्वास्थ्यको ख्याल गरेर हामी राख्छौँ । कानून र नियमावलीले दिन मिल्ने कुरा दिन्छौँ, नमिल्ने कुरामा हामीले गरेर केही हुँदैन । कारागार ऐनअनुसार कुनै पनि कैदी, बन्दीले कारागार प्रशासनको अनुमतिबिना बाहिरका कुनै पनि चिज लैजाने पाइने सुविधा हुँदैन । स्वास्थ्यमा समस्या भएमा सरकारी अस्पतालमा भर्ना हुन पाइने, फोन चलाउनु परेमा कारागारभित्रै निश्चित समय सुविधा पाइन्छ । लामिछानेका हकमा पनि यीबाहेकका सुविधा नदिइएको कारागार व्यवस्था विभागस्रोतले जनाएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल