Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

होर्मुज स्ट्रेटमा आक्रमण गरिए ठुलो हमला गर्ने इरानको चेतावनी

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ। आईआरजीसीको नौसेना कमान्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘फारसको खाडी वा होर्मुज स्ट्रेटमा इरानका तेल ट्यांकर र व्यापारिक जहाजमा हमला गरियो भने अमेरिकाका अड्डा र सैन्य जहाजविरुद्ध ठुलो आक्रमण गरिने’ चेतावनी दिएको हो। आईआरजीसीको एयरोस्पेस फोर्सले पनि छुट्टै पोस्टमार्फत ‘यसअघिदेखि नै आफ्ना मिसाइल र ड्रोन अमेरिकी अड्डा र शत्रु जहाजविरुद्ध तैनाथ भइसकेको र आक्रमणका लागि अब आदेशको मात्र पर्खाइ रहेको’ दाबी गरेको छ। यसैबिच वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकाले इरानसँग वार्ताका लागि १४(बुँदे मस्यौदा तयार पारेको छ। यसमा इरानको जवाफ पर्खिरहेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पत्रकारहरूसँग कुरा गर्दै इरानको प्रतिक्रियाको अपेक्षा गरिएको बताएका थिए। यद्यपि इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाको प्रस्ताव हाल समीक्षाकै क्रममा रहेको छ र उपयुक्त समयमा प्रतिक्रिया दिइने बताएका छन्। उनले भनेका छन्, ‘हामी अमेरिकाले दिएको समयसीमा स्वीकार गर्दैनौँ। इरानले आफ्नो काम आफ्नै तरिकाले गर्नेछ।’ यसैबिच इरानले स्ट्रेट अफ होर्मुजमा विदेशी जहाज आवागमन व्यवस्थापनका लागि विधेयकको मस्यौदा तयार पारेको छ। जसमा इजरायल र संयुक्त राज्य अमेरिकाका जहाज प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजमा कर लगाउने प्रस्ताव छ। इजरायल र अमेरिकाले गत फेब्रुअरी १८ मा इरानविरुद्ध संयुक्त हमला गरी सुरु युद्ध केही हप्तादेखि स्थगन गरिएको भए पनि होर्मुज स्ट्रेटमा भने अमेरिका र इरानका नौसेनाबिच झडप भइरहेको छ। यसबिच अमेरिका र इरानबिच फेरि पाकिस्तानमै दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको रिपोर्ट पनि आएको छ। यसैबिच युद्ध सुरु भएयता इरानले पहिलोपटक संसद्‌ बैठक बोलाएको छ। बैठक आज बस्ने बताइएको छ।