Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो १० महिनामा सरकारले रु ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो, जसमध्ये हालसम्म ५९ दशमलव ७५ प्रतिशत खर्च भएको देखिएको छ ।

चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकामा वैशाख मसान्तसम्म रु आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख अर्थात् ६८ दशमलव ९८ प्रतिशत खर्च भएको छ ।

यस्तै, पुँजीगततर्फ रु चार खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकामा हालसम्म रु एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख अर्थात् २७ दशमलव ९१ प्रतिशत मात्रै खर्च भएको छ । विकास खर्च न्यून रहनु सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।

वित्तीय व्यवस्थातर्फ भने ६५ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा विनियोजित रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये हालसम्म रु दुई खर्ब ४५ अर्ब १ करोड ५४ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

उता, सरकारको आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । वैशाख मसान्तसम्म कुल आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा सीमित भएको छ । सरकारले चालु आवमा रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा हालसम्म रु १० खर्ब १२ अर्ब ५ करोड २४ लाख मात्रै संकलन गरेको छ ।

राजस्वतर्फ सरकारले चालु आवमा रु १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेको थियो । तर, १० महिनामा रु नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख अर्थात् लक्ष्यको ६६ दशमलव ६९ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

त्यस्तै, वैदेशिक अनुदानतर्फ पनि अपेक्षित प्रगति हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षका लागि रु ५३ अर्ब ४४ करोड ६९ लाख अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा हालसम्म रु १७ अर्ब ७८ करोड ७६ लाख अर्थात् लक्ष्यको ३३ दशमलव २८ प्रतिशत मात्रै अनुदान प्राप्त भएको छ ।