Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सन् २०१० मा अफ्रिकी भूमिमा आयोजित विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। ठीक १६ वर्षपछि यी दुई टोली फेरि विश्वकपकै उद्घाटन खेलमा आमनेसामने हुँदैछन्।
उत्तर अमेरिका संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे प्रतिष्ठित एस्टाडियो अज्टेका रंगशालामा खेल सुरु हुनेछ।
करिब ८० हजार दर्शक उपस्थित रहने अपेक्षा गरिएको उद्घाटन खेलसँगै ३९ दिन लामो विश्वकप यात्रा सुरु हुनेछ। यस संस्करणमा ४८ टोली सहभागी छन् भने कुल १०४ खेल खेलिनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो।
खेलअघि हुने भव्य उद्घाटन समारोहमा विश्वप्रसिद्ध गायिका शाकिरा मुख्य आकर्षण रहनेछिन्। साथै कोलम्बियाली गायक जे बाल्भिन र दक्षिण अफ्रिकी गायिका टाइला पनि प्रस्तुत हुनेछन्।
घरेलु मैदानमा खेल्न लागेको मेक्सिकोमाथि जितसहित प्रतियोगिता सुरु गर्ने दबाब छ। ‘एल ट्री’ उपनामले परिचित मेक्सिको विश्वकपमा १७औँ पटक सहभागी हुँदैछ। एस्टाडियो अज्टेका विश्वकपका तीन उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ।
फिफा वरीयतामा १४औँ स्थानमा रहेको मेक्सिको पछिल्ला आठ खेलमा अपराजित रहँदै उच्च मनोबलका साथ मैदान उत्रँदैछ। प्रशिक्षक हाभिएर अगिरेको टोलीलाई घरेलु समर्थकको साथले थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ।
यता, फिफा वरीयतामा ६०औँ स्थानमा रहेको दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्किएको हो। ‘बाफाना बाफाना’ का प्रशिक्षक हुगो ब्रुसले आफ्नो टोलीले उद्घाटन खेलमा आश्चर्यजनक नतिजा निकाल्न सक्ने विश्वास व्यक्त गरेका छन्।
दक्षिण अफ्रिकाले तयारीका क्रममा केही भिसा समस्याको सामना गरे पनि टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, चेक रिपब्लिक र दक्षिण कोरिया रहेका छन्। प्रतियोगितामा १२ समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यस संस्करणमा पहिलोपटक राउन्ड अफ ३२ समावेश गरिएको छ।
हेड–टु–हेड तथ्यांकमा मेक्सिको केही अगाडि छ। दुई टोलीबीच भएका चार भेटमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल जितेको छ। एक खेल बराबरीमा सकिएको थियो।
दुवै टोलीको सबैभन्दा स्मरणीय भेट सन् २०१० को विश्वकप उद्घाटन खेलमा भएको थियो, जहाँ दक्षिण अफ्रिकाले अग्रता लिए पनि मेक्सिकोले बराबरी गोल फर्काउँदै खेल १–१ मा टुंग्याएको थियो।
पछिल्ला पाँच खेलको प्रदर्शन हेर्दा मेक्सिको तीन जित र दुई बराबरीसहित उत्कृष्ट लयमा देखिन्छ भने दक्षिण अफ्रिकाले दुई हार र तीन बराबरी खेलेको छ।
विश्वकप २०२६ को पहिलो खेलमा घरेलु टोली मेक्सिकोलाई बलियो दाबेदार मानिए पनि दक्षिण अफ्रिकाले इतिहास दोहोर्याउँदै उद्घाटन खेलमा चुनौतीपूर्ण प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २८
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल