Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भैरहवा । रुपन्देहीमा गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
रुपन्देही जिल्ला अदालतले कात्तिक १८ गते दिएको आदेशअनुसार रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरू २०६५ मंसिर ६ गते राति भएको हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ को झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा राति करिब १२ः३० बजे साविक छिपागढ गाविस–६, हाल रोहिणी गाउँपालिका–४ का चिनक राजभर भनिने मुनिराम राजभरको गोली हानी हत्या गरिएको थियो । त्यसबेला ३२ वर्षका रहेका राजभरको हात पछाडिबाट गलबन्दीले बाँधेर कञ्चटमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले गत असोज २१ गते पक्राउ गरेको थियो । अनुसन्धान पूरा गरी अदालतमा पेस गरिएका उनीहरूलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार पठाइएको डीएसपी चन्दले जानकारी दिए ।
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल