Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ। निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख(उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ। हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन्। आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।
को कहाँबाट उम्मेदवार
उम्मेदवारी दिनेमा सबैभन्दा बढी नेपाल कम्युनिस्ट पार्टी एमालेबाट १९ जना छन् । त्यस्तै, नेपाली कांग्रेसबाट १०, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ९, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट ६, नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट ४, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टी नेपाल जसपा बाट १ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, जनमत पार्टी २ जना राष्ट्रिय सभामा उम्मेदवार उठाएको छ ।
एमाले, राप्रपा, नेमकिपा र जनमत पार्टीले एक्लाएक्लै राष्ट्रियसभामा लड्ने भएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले भने गठबन्धन गरेका छन् । सत्तारूढ गठबन्धनमा जनमत पार्टी भए पनि उसले मधेस प्रदेशको अन्य समूह र लुम्बिनी प्रदेशको अन्य समूहतर्फ दुई उम्मेदवार उठाएको छ । उता कोशी प्रदेशमा एमाले र राप्रपाबीच गठबन्धन भएको छ ।
कोशी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदै छ । कोशीमा महिला समूहतर्फ एमालेका रुकमिणी कोइराला र माओवादी केन्द्रका चम्पादेवी कार्कीबीच प्रतिस्पर्धा हुनेछ । कोइराला र कार्कीको मात्रै यसमा उम्मेदवारी परेको छ । कोशी प्रदेशमै अन्य समूहतर्फ एमालेका परशुराम अधिकारी, कांग्रेसका कृष्णप्रसाद सिटौला, राप्रपाका उद्धव पौडेल गरी तीन जनाको उम्मेदवार छन् ।
मधेस प्रदेशमा एक महिला र एक अन्य समूह गरी दुई सिटका लागि निर्वाचन हँुदै छ । मधेस प्रदेशमा महिला समूहतर्फ एमालेका उषादेवी थरुनी र जसपाका पूजा चौधरी प्रतिस्पर्धामा छन् । यसैगरी, मधेस प्रदेशको अन्य समूहतर्फ एमालेका कुमारी विजेता झा, कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनमत पार्टीका रामशंकर महासेठ गरी तीन जनाबीच प्रतिस्पर्धा छ । बाग्मती प्रदेशमा महिला, दलित, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका चार सिटका लागि निर्वाचन हुँदै छ । बाग्मतीमा महिला समूहतर्फ एमालेका रोचकुमारी चौलागाई, कांग्रेसका विष्णुदेवी पुडासैनी, राप्रपाका बालकुमारी डल्लाकोटी र नेमकिपाका कृष्णलक्ष्मी दुवालबीच प्रतिस्पर्धा रहेको छ ।
बाग्मती प्रदेशमा दलित समूहतर्फ एमालेका ध्रुवराज विश्वकर्मा, एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, नेमकिपाका संगिता नेपाली उम्मेदवार रहेका छन् । बाग्मती प्रदेशको अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदायको समूहतर्फ चार उम्मेदवार रहेका छन् । एमालेबाट विवेक देवकोटा, माओवादी केन्द्रबाट श्रीकृष्णप्रसाद अधिकारी, राप्रपाबाट भरतमणि भट्ट र नेमकिपाबाट हिमालयश्वर लाल मूलबीच प्रतिस्पर्धा छ । यसैगरी, बाग्मती प्रदेशको अन्य समूहतर्फ चार जना एमालेबाट त्रिलोचन निर्मल पौडेल, कांग्रेसबाट जितजंग बस्नेत, राप्रपाबाट हेमजंग गुरुङ र नेमकिपाबाट श्रीकृष्ण महर्जनबीच प्रतिस्पर्धा छ ।
गण्डकी प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय, अन्य गरी तीन सिटका लागि निर्वाचन हुँदै छ । गण्डकीमा महिलातर्फ एमालेका सम्झना देवकोटा, माओवादी केन्द्रका मनरुपा शर्मा, राप्रपाका गौमाया श्रेष्ठ उम्मेदवार रहेका छन्य सैगरी, गण्डकी प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका हेमन्द्र शेरचन, कांग्रेसका पदमबहादुर परियार र अन्य समूहतर्फ एमालेका चक्रबहादुर पराजुली, कांग्रेसका किरणबाबु श्रेष्ठ र राप्रपाका रोमबहादुर भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । लुम्बिनी प्रदेशमा महिला र अन्य समूह गरी दुई सिटका लागि निर्वाचन हँुदै छ । महिलातर्फ एमालेका तुलसाकुमारी केसी, कांग्रेसका विष्णुकुमारी सापकोटा र राप्रपाका विजयालक्ष्मी सिंह गरी तीन जना रहेका छन् । यसैगरी, लुम्बिनी प्रदेशको अन्य समूहतर्फ एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाका निरन्जनकुमार थापा र जनतम पार्टीका बालगोविन्द चौधरी रहेका छन् ।
कर्णाली प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि निर्वाचन हुँदै छ । महिला समूहतर्फ एमालेका विमलाकुमारी शाही र एकीकृत समाजवादीका सावित्री मल्ल, दलित समूहतर्फ एमालेका हिक्मत विक र माओवादी केन्द्रका बिष्णुबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन् । कर्णाली प्रदेशमा अन्य समूहतर्फ एमालेका डिल्लीप्रसाद भट्ट र कांग्रेसका कृष्णबहादुर रोकायबीच प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी तीन समूहका तीन सिटका लागि निर्वाचन हँुदै छ । सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेका सावित्रादेवी घिमिरे र माओवादी केन्द्रका रेनुचन्द उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका रामचन्द्र जोशी र कांग्रेसका नारायणदत्त भट्ट र अन्य समूहतर्फ एमालेका ईश्वरीप्रसाद खरेल र कांग्रेसका बलदेव बोहाराबीच प्रतिस्पर्धा छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल