Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले ट्रायल पास गरी राजस्व तिरेका सेवाग्राहीका लागि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था शुक्रबारदेखि लागू गरिएको घोषणा गरे।
लामो समयदेखि लाइसेन्स प्राप्त गर्न ढिलाइ भोगिरहेका सेवाग्राहीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताए। “अब काम रोकिने अवस्था आउने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्,” उनले भने, “वर्षौँसम्म लाइसेन्स कुर्नुपर्ने अवस्था अन्त्य भएको छ।”
निरीक्षणका क्रममा उनले अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद भएको बताए। ती उपकरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिँदै करिब एक अर्ब रुपैयाँ बराबरका मेसिनहरू अब प्रभावकारी रूपमा प्रयोग गरिने उनले बताए। साथै, नागरिकको डाटा सुरक्षालाई प्राथमिकता दिँदै सेवाग्राहीमैत्री वातावरणमा काम गर्न केन्द्रलाई निर्देशन दिएका छन्।
मन्त्री तिमिल्सिनाले देशभर इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको पनि बताए। आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको उनको दाबी छ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता संवेदनशील सामग्री पनि यहीँबाट छाप्ने गरी क्षमता विकास भइरहेको छ। हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। वैशाख १२ गतेभित्र थप १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने योजना रहेको उनले बताए।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल