Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३० प्रतिशतसम्मको छूटमा महानगरको सुलभ फार्मेसी सेवा सुरु हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रममा महानगरका वडाहरुमा सुलभ फार्मेसी सेवा ल्याउने बताएको थियो। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याएर महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिने लक्ष्यका लागि उक्त योजना अगाडि बढाइएको बताइएको थियो। यस अवधारणा अनुसार महानगरका सम्पूर्ण वडाहरुमा अत्यावश्यक औषधिहरु सरल र सहज रुपमा प्रदान गरिने महानगरका सुलभ फार्मेसी विज्ञ डा सतिश देवले बताए। महानगरका सम्पूर्ण वडाहरुमा सुलभ फार्मेसी स्थापना गरिने अवधारणा भएपनि त्यसको सुरुवात कम्तीमा ५ वटा वडाबाट गरिने डा देवले जानकारी दिए। उनका अनुसार सुलभ फार्मेसी स्थापनाका लागि हालसम्म बबरमहलको एक स्थान मात्रै एकिन भएको छ। अन्य स्थानहरु हालसम्म एकिन भइसकेको छैन। स्थान एकिन गर्नका फार्मेसी रहने स्थानका वडा अध्यक्षको समेत स्वीकृति चाहिनेछ। सकेसम्म सुलभ तथा सस्तो दरमा गुणस्तरीय औषधि वडाबासीहरुलाई प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस अवधारणालाई अगाडि बढाइएको हो। भारतमा रहेको जनऔषधि योजनाको अवधारणाअनुसार काठमाडौं महानगरमा पनि सुलभ फार्मेसी सेवा अवधारणालाई अगाडि ल्याइएको डा देव बताउँछन्। यस अवधारणा अनुसार एकै पटकमा धेरै मात्रामा औषधि खरिद हुने भएकोले केही सस्तो पर्ने छ। औषधिको गुणस्तरीयतालाई समेत ख्याल गर्दै केही फरक तरिकाबाट सस्तो तथा गुणस्तरीय औषधि प्रदान गर्नका लागि सुलभ फार्मेसी सेवा सर्वसाधारणका लागि लाभदायक हुन सक्ने अनुमानका साथ यस योजनालाई अगाडि बढाइएको डा देवको भनाइ छ। अन्य फार्मेसीको तुलनामा यस प्रकारको फार्मेसीबाट औषधि किन्दा सर्वसाधारणहरुलाई ३० प्रतिशतसम्म सस्तो हुन सक्ने छ। जथाभावी रुपमा हुने औषधि बिक्री वितरणको कार्यलाई यस प्रकारको फार्मेसी सेवाले नियन्त्रण गर्न सक्ने महानगरले बताउँदै आएको छ। यस प्रकारको फार्मेसीमा इजाजत प्राप्त संस्थाबाट पढेका तथा लाइसेन्स प्राप्त फर्मोसिस्टहरु मात्रै औषधि बिक्री वितरणमा संलग्न हुने भएकोले औषधिको अवैधानिक बिक्री वितरणलाई यसले रोक्ने छ। औषधि व्यवस्था विभाग तथा नेपाल मेडिकल काउन्सिलको मापदण्डलाई समेत पालना गर्दै सुलभ फार्मेसीबाट औषधि बिक्री वितरणको कार्य हुनेछ। औषधिको गुणस्तरीयतालाई समेत ध्यानमा राख्दै सुलभ फार्मेसीले महानगरवासीलाई फरक ढंगले औषधि उपलब्ध गराउने बताइएको छ।