Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४७ हजार माग्दा १ लाख ९० हजार ओइरियो

काठमाडौँ । सत्ता चलाउनेहरुले जतिसुकै ठूला कुरा गरे पनि देशमा रोजगारीको अवसर छैन भन्ने कुरा राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन पर्नुले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् । जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म देशभरि एकैसाथ हुने तालिका छ । विभागले ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग गरेको छ । त्यसमा १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यो संख्या आवश्यकताभन्दा चार गुणा बढी हो । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् ।

विभागले सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरी अधिकारी तोकेर कर्मचारी खटाएको छ । त्यसैगरी जनगणनामा सोधिने प्रश्नावली छपाइ गरिसकेको छ । जनगणनामा खटाइने सुपरीवेक्षक, गणक र कर्मचारीका निम्ति प्रश्नावलीसँगै झोला, छाता, टोपी, टर्च, मार्कर, डटपेनलगायत सामग्री जिल्ला कार्यालयहरूमा पठाएको छ । विभागले प्रदेशस्तरीय जनगणना तालिम सुचारु राखेको जनाएको छ । निर्देशक लामिछानेका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, धुलिखेल, पोखरा, सुर्खेत, धनगढी र कोहलपुरमा तालिम भइरहेको छ । यसअघि केन्द्रीय, जिल्ला जनगणना अधिकारी, सहायक अधिकारीलाई तालिम दिइसकेको छ । यही चैतभित्र स्थानीय जनगणना अधिकारी र कर्मचारीलाई तालिम दिइने लामिछानेले बताएका छन् ।