Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने जेनजी उमेर समूहका सांसदलाई नयाँ पुस्ताका विषय संसदमा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
सिंहदरबारमा जेनजी उमेर समूहका सांसदसँग करिब दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आफ्नो उमेर समूह र आफूभन्दा कम उमेरका युवाका विषय संसदमा उठाउन आग्रह गरेका हुन्।
सांसद श्रद्धा कुँवरका अनुसार प्रधानमन्त्री शाहले जेनजी उमेर समूहका सांसद र ५० वर्ष उमेर आसपासका सांसदले उठाउने विषय एउटै हुन नहुने बताएका थिए। उनका अनुसार प्रधानमन्त्रीले कक्षा ११ र १२ मा अध्ययनरत युवाका समस्या, रोजगारी, स्टार्टअप तथा नयाँ प्रविधिसँग सम्बन्धित विषय संसदमा उठाउन सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले युवा सांसदलाई राजनीति मात्रै नभई व्यवसायमा समेत जोडिन सुझाव दिएको सांसदहरूले बताएका छन्। सांसद कुँवरका अनुसार शाहले सांसदको कार्यकाल सकिएपछि पनि आफ्नो भविष्यका लागि व्यवसाय वा अन्य पेशागत क्षेत्रमा सक्रिय हुनुपर्ने बताएका थिए।
छलफलमा सहभागी सांसद मनिष खनालका अनुसार प्रधानमन्त्री शाहले संसदमा कृत्रिम बौद्धिकता (एआई), डेटा तथा प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए।
खनालका अनुसार प्रधानमन्त्रीले नयाँ सांसदले पुरानै शैलीमा विषय उठाउनुभन्दा समाधानसहितका प्रस्ताव संसदमा प्रस्तुत गर्नुपर्ने बताएका थिए।
उनले युवा सांसदलाई रोजगारी, प्रविधि, स्टार्टअप र नयाँ पुस्ताका समस्यालाई केन्द्रमा राखेर बहस गर्न सुझाव दिएको खनालले बताए।
छलफलका क्रममा जेनजी सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउनुपर्ने विभिन्न विषय प्रस्तुत गरेका थिए।
मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सरकारी नियुक्तिमा समावेशिताको विषय उठाएका थिए। त्यस्तै, जेनजी आन्दोलनमा सहभागी भएका कारण जेलमा रहेका युवाको विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसदहरूले बताएका छन्।
सांसद मनिष खनालले विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने, विदेशमा काम गर्ने नेपालीले नेपालमा रकम पठाउँदा भोग्नुपरेका समस्या, खेलकुद कूटनीति र पर्यटनका विषय उठाएका थिए।
त्यस्तै, नेपाल प्रिमियर लिगमा विदेशी खेलाडीको सहभागिता, अखिल नेपाल फुटबल संघमाथिको प्रतिबन्ध तथा नारायणी नदी आसपास पर्यटन प्रवर्द्धन गर्नुपर्ने विषयमा समेत छलफल भएको उनले बताए।
सांसद श्रद्धा कुँवरले युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन्। उनका अनुसार केही जेनजी युवा सांसद बने पनि आन्दोलनमा सहभागी भएका अन्य युवा अझै जेलमा रहेको विषयमा समेत छलफल भएको थियो।
कुँवरले युवालाई राजनीतिसँगै खेलकुद तथा मनोरञ्जनका क्षेत्रमा समेत जोड्नुपर्ने सुझाव दिएकी थिइन्। चाडपर्व नजिकिँदै गर्दा बढेको महँगीका विषयमा समेत उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्।
सांसद केपी खनालले नेपालमा पर्यटक आकर्षित गर्न सहरको सौन्दर्यीकरण, तराई तथा सुदूरपश्चिममा लागुऔषधको समस्या र सुधार गृहको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने विषय उठाएका थिए।
उनले विद्यालयमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, ई–स्पोर्ट्सको प्रवर्द्धन गर्नुपर्ने तथा विद्यालय सुधारका विषयमा पनि सुझाव दिएको बताए।
प्रधानमन्त्री शाहले नयाँ पुस्ताका सांसदले नयाँ पुस्ताकै मुद्दा उठाउनुपर्नेमा जोड दिएको सांसदहरूले बताएका छन्। छलफलका क्रममा उनले पुस्तान्तरणको अर्थ नयाँ पुस्ता संसदमा आए पनि पुरानै शैली र विषय दोहोर्याउनु नभएको उदाहरणसमेत प्रस्तुत गरेका थिए।
२०८३ आश्विन ३
ताजा नेपाल
२०८३ आश्विन ३
ताजा नेपाल
२०८३ आश्विन ३
ताजा नेपाल