Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । बचतकर्ताको रकम हिनामिना गरी लामो समयदेखि फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गरेका छन्।
यसअघि गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत लामिछाने पक्राउ परेको जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताका लागि न्यायको सुरुवात भएको बताएका छन्। उनले बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको उल्लेख गरेका छन्।
गृहमन्त्री गुरुङका अनुसार एक वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताले भोगिरहेको पीडाबारे आफू जानकार भएका थिए। त्यतिबेला उनीहरूले सुनाएका समस्याले आफूलाई निरन्तर झकझकाइरहेको उनको भनाइ छ।
अभियन्ताका रूपमा रहँदा वा जेनजी आन्दोलनपछि पनि तत्कालै पीडितका लागि केही गर्न नसकेको उल्लेख गर्दै उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि बचतकर्ताको रकम हिनामिनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको बताएका छन्।
गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको दाबी गरेका छन्। अब क्रमशः अन्य फरार व्यक्तिहरूको खोजी तथा कानुनी कारबाहीको प्रक्रिया पनि तीव्र बनाइने उनको भनाइ छ।
बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले धरानसहित देशभरका ४ हजार ७७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाका अध्यक्षसहित सञ्चालकहरू फरार भएका थिए।
सहकारीका सञ्चालकहरू सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले आफ्नो रकम फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए। रकम हिनामिना तथा अपचलन गरी ठगी गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा भएको अनुसन्धानले सहकारीबाट कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो।
प्रहरीको अभियोगपत्रअनुसार बचतकर्ताको रकममध्ये सबैभन्दा ठूलो हिस्सा शिवकुमार लामिछानेले हिनामिना गरेको आरोप छ। उनले मात्रै २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ।
सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार रहेको बताइएको छ।
लामिछानेको पक्राउसँगै बराह सहकारीबाट पीडित बनेका हजारौँ बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने अपेक्षा गरेका छन्। तर पक्राउ र अनुसन्धानको प्रक्रियाले मात्रै उनीहरूको रकम फिर्ता हुने सुनिश्चित हुँदैन। सहकारीको सम्पत्ति तथा लगानीको खोजी, हिनामिनामा संलग्न अन्य व्यक्तिको पहिचान र सम्पत्ति रोक्का तथा जफतको प्रक्रिया प्रभावकारी रूपमा अघि बढेमा मात्रै पीडितले राहत पाउने सम्भावना रहन्छ।
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल