Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५ लाख नगद ५० हजारको मोबाइलमा मृगौला तस्करी गर्ने गिरोह समातियो

काठमाडौं । गास र बासका लागि मान्छेले आफ्नै अंग पनि बेच्न पछि पर्दैन । तर कानुनी रुपमा अवैध भए पनि जब मान्छे गरिबीसँग हारेको हुन्छ त्यतिबेला उसले बाँच्नका निम्ति जस्तोसुकै विकल्प पनि स्वीकार्छ । चाहे त्यो यौन व्यवसाय होस् या नेपालमा कानुनी रुपमा बन्देज गरिएको मृगौला बेचविखन किन नहोस् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले दिएको जानकारीअनुसार यतिखेर नेपालबाट भारतका विभिन्न शहरहरुमा पुर्याएर मृगौला बेच्ने तस्करहरुको जमात बढ्दो छ । नेपालबाट भारतमा झण्डै ५ सय भन्दा बढी व्यक्तिहरुको मृगौला बिक्री गरिएको प्रहरीको अनुमान छ । यस पटक अनुसन्धान ब्यूरोले सडकमा भाैतारिइरहेकाहरुलाई आफैंले मृगौला बेचेको बताएर रु ५ लाख कमाई हुने फर्कने बेलामा ५० हजारको मोबाइल पाइने लोभ देखाउने अभियानमा रहेका धनबहादुर रोका, विजय कुँवर, धुपेन्द्र शाही, विमलबहादुर शाही र आशिष तामाङलाई पक्राउ गरेको छ । उनीहरुले बालबालिकादेखि गरिब युवाहरुलाई प्रभावमा पारेर काठमाडौंको पोलि क्लिनिकहरुमा रक्त परीक्षण गराई भारतमा पु¥याएर आफूले प्रभावमा पारेका व्यक्तिहरुको मृगौला बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । ब्यूरोका प्रवक्ता दानबहादुर मल्लका अनुसार, यस्तो गतिविधि गर्नेहरुलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन अदालती प्रक्रिया शुरु भएको छ । ब्यूरोले होटल चलाउने नाममा नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा चिनिमाया लामा लिम्बूलाई टोखा नपा वडा नं. ९ बाट पक्राउ गरेको बताएको छ । त्यसैगरी ब्यूरोबाट वैदेशिक रोजगार विभागमा खटेको टोलीले आर्थिक वर्ष ०७८/७९ मा १८२ वटा मुद्दा दर्ता गरेको बताएको छ । ब्युरोबाट वैदेशिक रोजगारीमा पर्यटन भिसामा गएर अलपत्र परेका ५० जनाको उद्दार गरेको छ । प्राप्त जानकारीअनुसार, ब्यूरोले भारतबाट १५, ओमानबाट ३, कुवेटबाट १, दुवईबाट १, श्रीलंकाबाट १, इराकबाट १ र नेपालकै विभिन्न स्थानबाट १७ जनाको उद्दार गरेको छ ।
त्यसैगरी वैदेशिक रोजगार विभागमा खटेका डिएसपी नवराज मल्लका अनुसार विभागमा प्रहरी शाखा स्थापना भएपछि वैदेशिक रोजगारीका नाममा गरिएका ठगिहरुको छानविन गर्दा २१ अभियुक्तबाट पीडितलाई १ करोड, ८८ लाख, ६२ हजार उपलब्ध गराएको छ । यसरी ठगी गरेको अभियोगमा ७ वटा मुद्दा दर्ता भएको छ भने जसमा २१ जना अभियुक्त रहेकोमा ८ जना पक्राउ परिसकेका छन् । स्मरणीय छ वैदेशिक रोजगारका नाममा २ करोड, २३ लाख, ४० हजार ५ सय ठगी भएको छ । यसरी ठगी गर्नेहरुमा व्यक्ति, कन्सल्टेन्सी र वैदेशिक रोजगार कम्पनीहरु भएको डिएसपी मल्लले जानकारी दिएका छन् ।