Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६ महिनापछि खुल्यो सार्वजनिक यातायात

काठमाडौँ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबैखाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने बताइएको छ । यातायात व्यवसायीले बसपार्कमा सामूहिक रूपमा विश्वकर्मा पूजासमेत गर्दैछन् । कतिपयले भने व्यक्तिगतरूपमा नै पूजा गरेर छोटो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् । सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा लिन पाउने अनुमति दिइएको छ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।
यसैबीच, देशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ ।बुधबार काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरजिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएका छन् ।