Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवन काँग्रेसमा विद्रोह, प्रचण्ड पुत्रीलाई संकट

काठमाडौं । केन्द्रका टाउका बसेर मिलाए जस्तो स्थानीय तहमा जान सहज छैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ । रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको छ । विभिन्न मिडियामा पनि यसै भनेर समाचार आइरहेको देखिन्छ । तर त्यो सत्य होइन ।’ उनले सामाजिक सञ्जालमार्फत भरतपुरमा कांग्रेसले मेयरमा दाबी नछाडेको प्रष्ट पार्दै लेखेको स्टाटस जस्ताको तस्तैः

नेपाली कांग्रेसले भरतपुर महानगरको मेयर पदमा माओवादीकी रेणु दाहाललाई समर्थन गर्दैन । पार्टी केन्द्रले अहिलेसम्म यस्तो निर्णय गरेको छैन र यस्तो घातक निर्णय गर्छ भनेर विश्वास पनि गर्न सकिँदैन ।

यस विषयमा केही बुँदामा म प्रष्ट पार्न चाहन्छुः

१ चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ ।

२ चितवनका जनता तथा कांग्रेसका समस्त कार्यकर्ताहरुको विचार तथा भावनालाई केन्द्रमा राखेर नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडा समितिहरुले मेयर पदमा नेपाली कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर सर्वसम्मत निर्णय गरिसकेको अवस्था हो ।

३ नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि मेयरमा कांग्रेसले नै उम्मेदवारी दिनुपर्छ भनेर निर्णय गरिसकेको छ ।

यी तीन तथ्यले के प्रष्ट पार्छ भने नेपाली कांग्रेसले नै भरतपुरमा मेयर पदमा उम्मेदवारी दिन्छ । नेपाली कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।

४ नेपाली कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय नै गरिसकेको छ । केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको छ ।

५ स्थानीय अवस्था र आवश्यकता अनुसार नै नेपाली कांग्रेस चितवनका विभिन्न समितिहरुले भरतपुर महानगरमा नेपाली कांग्रेसले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । स्थानीय आवश्यकता र अवस्था पहिचान गर्ने जिम्मेवारी स्थानीय कार्यकर्ता र समितिहरुको हो भन्ने बुझाइरहन पर्ला र ?

६ स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै नेपाली कांग्रेस चितवनका समस्त कार्यकर्ताले नेपाली कांग्रेसले नै मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

७ चितवनका समितिहरु र कार्यकर्ताहरुले स्थानीय अवस्था र आवश्यकता पहिचान गरेर निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस केन्द्रले त्यसलाई काट्न मिल्दैन । काट्न हुँदैन । काट्न सक्दैन ।

८ नेपाली कांग्रेस देशकै अगुवा पार्टी हो । यसको आन्तरिक लोकतन्त्र कम्युनिष्ट पार्टीहरुसँग तुलना हुन सक्दैन । स्थानीय अवस्था र आवश्यकता विपरित केन्द्रबाट निर्णय लाद्ने काम कम्युनिष्ट पार्टीहरुमा मात्र सम्भव छ । त्यस्तो अपराध कम्युनिष्टहरुले मात्र गर्छन् । कम्युनिष्टहरुलाई लोकतन्त्रको पाठ पढाउने नेपाली कांग्रेसले अलोकतान्त्रिक निर्णय गर्न सक्दैन ।

९ कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनिरहेका छन् । अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी छैन । कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टनेछ ।

१० नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र यसका गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा हुन् । पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङको सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा त्यस्तो निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरुमा छ । चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्ने प्रष्ट छ । चितवन कांग्रेसको साथमा जनता छ ।

तसर्थ, माओवादी केन्द्रलाई नेपाली कांग्रेसले मेयर पद दिन सक्दैन र दिँदैन पनि । यसमा नेपाली कांग्रेस केन्द्रले विपरित निर्णय गर्दैन र गर्न सक्दैन ।


सम्बन्धित समाचार