Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धैर्यताको बाध फुटेपछि विदेशमै आन्दोलनमा उत्रिए नेपाली

दोहा । महिनौ भयो विदेशमा शलपत्र भएको । राज्यको खोजी गर्दा भेटिँदैन । चार गुणा बढी भाडा तिरेर जन्मथलो आउँछु भन्दा पनि पाउने स्थिति छैन । यस्तो भएपछि विदेशमा अलपत्र नेपालीले कति सराप्लान् नेपाल सरकारलाई । रोजगारीको लागि विभिन्न समयमा साउदी अरब पुगेका करिब १२ सय नेपाली कामदार अलपत्र परेका छन् । अलपत्र पर्नेमा ९ सय पुरुष र ३ सय महिला रहेको जनाइएको छ । साउदी अरबको रियादस्थित समास्को सप्लाइ कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको ७ महिना हुँदा पनि कम्पनीले चासो नदेखाएको र घर फर्किन पनि नपाएको पीडितहरूले बताएका छन् । आफूहरूको समस्याबारे रियादस्थित नेपाली दूतावासमा पुगेर सहयोग माग्दा सुनुवाइ नभएको ती नेपाली श्रमिकहरूको आरोप छ । उनीहरूले नेपाल सरकार तथा नेपाली दूतावासविरुद्ध चर्को नाराबाजी गरेका छन् । भिसाको म्याद सकिएका करिब ६ सय जना नेपाली स्वदेश फर्किने दिनको पर्खाइमा छन् । अन्य श्रमिकहरू सप्लाइ कम्पनीले लिएको कन्ट्र्याक्टमा काम नभएपछि लामो समयदेखि कोठामै बसिरहेका छन् । काम गरिरहेकाहरूको पनि तलब कटौति भएको उनीहरूले बताएका छन् । घरबाट पैसा मगाएर स्वदेश फर्किन्छौँ भन्दा पनि नेपाल सरकारले उडानको व्यवस्था गर्न नसकेको र दूतावासले पनि चासो नदेखाएको उनीहरूको आरोप छ । आफूहरू ६ महिनादेखि कामविहीन रहेको उनीहरूको भनाइ छ । कम्पनीले चार्टर उडान गर्न दूतावाससँग समन्वय गरे पनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटकपटक उडान स्थागित हुँदै आएको छ । लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरू डिप्रेसनको शिकार भएको र घर फर्किन नपाएका एक नेपालीले एक महिनाअघि आत्माहत्या गरेको एक नेपाली श्रमिकले बताए । नेपाली मजदुर एकता समाज साउदीले साउदी अरबमा अलपत्र हजारौँ नेपालीहरूले नेपाली दूतावास र नेपाल सरकार विरुद्ध नाराबाजी गरेको जनाएको छ । समाजले दूतावास र नेपाल सरकारलगायत सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको जनाएको छ । नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले उडानबारे नेपाल नेपाली दूतावास, मेनपावर कम्पनी तथा सम्बद्ध सरकारी निकायसँग जानकारी लिने प्रयास भइरहेको बताएका छन् ।