Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बामदेवलाई प्रस्ताव, अहिल्यै उपप्रम कि चुनावपछि प्रम ?

काठमाडौं । पटक पटक धोका खाएका वामदेव गौतम यस पटक टसमस नभएपछि सत्ता डगमगाउने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । कसै गर्दा पनि वामदेवलाई बटार्न नसकेपछि ठूला आश्वासनका पोका खालिन थालेको चर्चा चलेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक अघिसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पकड बलियो बनाउन सक्रिय भएका छन् । दुवै नेताहरुले सचिवालय, स्थायी र केन्द्रीय कमिटिीका प्रभावशाली नेताहरुसँग भेटघाट जारी राखेका छन् । उनीहरुले विश्वासपात्र र आफ्नो पक्षका नेताहरुसँग छलफल गर्दै आएका छन् । पार्टी बैठकमा भोलि दुवैले एक अर्कालाई लगाएको आरोप प्रत्यारोपको दस्तावेजमाथि छलफल हुुुनेछ । यही दस्तावेजले नेकपाको भविष्यसमेत तय गर्ने परिस्थिति बन्दैछ । त्यसका लागि सचिवालय देखि स्थायी कमिटीमा रहेको पकडले फरक अवस्था ल्याउनसक्छ ।

नेकपाभित्र अहिले सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । नौ सदस्यीय सचिवालयमा ओलीको पक्षमा चारजना देखिएका छन् । प्रचण्डको पक्षमा पाँचजना छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल देखिएका छन् । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । ओलीले छजना विरोधी सचिवालय सदस्यमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गरे । नेपाल र खनाल पक्षमा नआउने निश्चित भइसकेको छ । दुवै नेता कहाँ ओलीका विश्वासपात्रहरु पुगेर छलफल गरेपनि सफल भएन । ओलीले नेपालसँग तीनपटक छलफल गरे । तर, कुरा मिल्नुका साटो टकराव बढेर गयो । ओलीले अझै उपाध्यक्ष बामदेव गौतमलाई पक्षमा तान्न प्रयास छाडेका छैनन् ।

गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव गइसकेको छ । उनलाई चुनावी प्रधानमन्त्रीको प्रस्ताव पनि राखिएको छ । तर, गौतम विगतमा धोका खाएको भन्दै ओली पक्षमा जान तयार छैनन् । उनलाई मनाउन महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पटक पटक प्रयास गरेका थिए । तैपनि, माहोल बन्न सकेन । शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेल भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । उनले गौतमलाई भविष्यमा मिलेर जान सकिने विषयमा छलफल गरेको बुझिएको छ । तर, गौतम अझै सकारात्मक भएका छैनन् । उनले यसपटक अडान नछाड्ने छाँट देखाएका छन् । गौतमले ओलीमाथि दुईपटक सत्ता संकट आउँदा अन्तिम समयमा साथ दिएका थिए । यसपटक पनि उनकै भरोसा ओली पक्षलाई छ ।


सम्बन्धित समाचार