Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहुमतले पेल्नथालेपछि पार्टी विभाजनको त्रास

काठमाडौँ । आफू अल्पमतमा पर्दै गएपछि खुमलटारको ढोकामा आफ्ना दूतहरु पठाएर सहमतिको प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीले अझै निकासको छेकछन्द भेट्टाएका छैनन् । सहमति खोज्ने प्रयासमा दुई दिन बैठक स्थगित गरिए पनि सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आआफ्ना अडान छाडेका छैनन् । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको दौडधुप बढेपनि नतिजा सकारात्मक आएको छैन ।

शुक्रबार दिनभरजसो नेताहरुले अनौपचारिक छलफल पनि दुवै पक्षको आआफ्ना अडानमा केन्द्रित हुँदा सकारात्मक हुन सकेन । अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट सहमति खोज्नुपर्ने पक्षमा छन् । पार्टीभित्र अल्पमतमा परेकाले सहमति नजुटेसम्म अनौपचारिक संवाद अघि बढाउने र बैठकमा नै सहभागी नहुने रणनीति अख्तियार गरेका छन् । ओलीले बुधबारको बैठकमा सहभागिता नजनाएर यसको सुरूवात गरिसकेका छन् । उनी आजको बैठकमा पनि उपस्थित हुने नहुने निश्चित छैन ।

ओली निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने भन्दै संवादबाट सहमति खोज्न आग्रह गरेका छन् । तर, प्रचण्डले भने बैठकबाटै सहमति खोज्नुपर्ने बताएका छन् । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । उनीहरूले केही दिन बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेको बताइएको छ । तर, दाहाल(नेपाल पक्ष भने बैठकबाटै विवाद टुङ्ग्याउनुपर्ने अडानमा छन् । सहमित नजुटे बहुमतबाट ती दुबै प्रस्तावलाई स्थायी कमिटीमा लाने निर्णय गर्ने उनीहरूको तयारी छ ।

यसअघि ओलीको अनुपस्थितिमै बुधबार बसेको सचिवालय बैठकले पार्टीमा उत्पन्न विवाद समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।


सम्बन्धित समाचार