Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालयहरु बेनिघाट तथा गजुरी र प्रहरी चौकी जोगीमाराबाट समेत प्रहरी टोली खटी गई उद्दार कार्यमा जुटेको थियो ।

दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका–५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको छ । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका–४ बस्ने ३२ चर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जिवन विक रहेका छन् । उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा छन् । सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको भन्ने बुझिएको छ । दुर्घटनामा परी बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजी तथा उद्दार कार्य एवं थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।