Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक परिषदको नियुक्तिमा एकलौटी गर्न लागेको भन्दै प्रचण्ड पक्ष असन्तुष्ट

काठमाडौँ । सल्लाहै बीना र पार्टी र सरकार चलाए झैं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेकोमा अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेका छन् । संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नजानुभएको बताइएको छ । यसअघि आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित गरिएको थियो ।

सभामुख सापकोटा अनुपस्थित भएपछि बालुवाटारमा बिहान डाकिएको बैठक अनिश्चित भएको छ । ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेका थिए । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ । प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नै छैनन् । प्रमुख आयुक्तसहित ५ जना पदाधिकारी रहने अख्तियारमा अहिले २ जना आयुक्त छन् । यी दुई आयुक्तको पदावधि आगामी चैत १७ गते सकिँदैछ । राष्ट्रिय मानवअधिकार आयोग यही २०७७ कात्तिक ३ देखि पदाधिकारीविहीन बनेको छ । निर्वाचन आयोगमा दुई स्थान रिक्त छ । राष्ट्रिय महिला आयोग पनि पदाधिकारीविहीन छ । राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगमा पदाधिकारीको नियुक्ति नै भएको छैन ।

पार्टीमा छलफल नै बिना संवैधानिक परिषदको बैठक डाकेर एकलौटी गर्न खोजेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने असन्तुष्टि जनाएका छन्। उनी निकट नेताहरूका अनुसार पार्टी विवाद मिलाउन आफू लचक हुँदा पनि ओलीले पार्टीलाई चुनौती दिने गरी अघि बढ्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी विवाद सुल्झाउन शीर्ष नेतृत्व लागि परिरहँदा ओलीले सल्लाहबिनै संवैधानिक नियुक्तिको कदम चाले उनका लागि घातक हुन सक्ने प्रचण्ड निकट नेताहरूले चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार