Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनलाई अझै नेकपा मिल्ने आशा

काठमाडौं । उत्तरी छिमेकी चीन नेपालको कम्युनिष्ट पार्टीको विभाजन रोक्ने प्रयासमा अझै पनि सक्रिय रहेको छ । यही सिलसिलामा चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । साँझ शितलनिवास पुगेर उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् । भेटमा यान्छीले नेकपा विभाजन पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेकी छिन् । उनले नेकपा मिलाउने सूत्रका बारेमा कुराकानी गरेको बुझिएको छ । शुक्रबार ५ बजे शितलनिवास छिरेकी राजदूत यान्छी ८ बजेमाथि निस्किएकी थिइन् । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा बिघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई भइरहँदा यान्छीको सक्रियता ह्वात्तै बढेको छ । संसद पुनःस्थापनाको पक्षमा फैसला भए नेकपा मिलाउन सकिने गरी चिनियाँ रणनीति खुल्दै जाँदा राजदूत यान्छीले राष्ट्रपतिसँग भेटवार्ता गरेकी हुन् ।
अर्कोतर्फ, निर्वाचन आयोगले चाँडै नै सुर्य चिन्ह र नेकपाको वैधानिकताबारे निर्णय दिने भएको छ । अदालतमा संसद बिघटनविरुद्ध बृहत पूर्ण इजलाशमा सुनुवाईको माग अस्वीकृत भई संवैधानिक इजलाशमै सुनुवाई हुने परमादेश आज जारी भएको छ । यो घटना विकास भएसँगै चिनियाँ राजदूत यान्छी फेरि सक्रिय भएकी छिन् । चीनले यी घटनाक्रममा निकै चासो राखेको देखिन्छ । नेपालको राजनीतिमा खुल्लेआम सक्रिय भएको चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो । उक्त टोलीले नेकपा मिलाउन पहल गरेको थियो । चीनबाट गोप्य रुपमा तीन सदस्यीय टोली सडकमार्ग हुँदै छिरेको थियो । चिनियाँ टोली नेकपा मिलाउने उपायसहित भित्री रुपमा निकै सक्रिय भइरहेको छ ।