Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गच्छदार ५ करोड बोकेर अदालत जाँदै

 

काठमाडौं । ललित निवास काण्डका दोषीहरू उपर विशेष अदालतले सूचना जारी गरेपछि तारिख धाउने प्रक्रिया जारी छ । यो विषयमा चन्द्रदेव जोशी जस्ता तत्कालिन भूमिसुधारमन्त्री बिना धरौटी तारेख धाइरहेका छन् भने तत्कालिन भौतिक योजना सचिव दीप बस्नेत ठूलो रकम धरौटी राखेर पनि मुक्त हुन नसक्दा डिल्ली बजार खोरमा सिरक ओढेर बसिरहेका छन् । विभागीय मन्त्रीको आदेश लिएर आफू अगाडि बढेको आरोप लगाउने दीप बस्नेत विरुद्ध सम्पत्ति सुद्धिकरण विभागमा पनि छानविन भइरहेको छ । यतिखेर नेपाली काँग्रेसका उपसभापति एवं मधेशका लोकप्रिय नेता विजय गच्छदार भने छटपटीमा परेका छन् ।

उनको पछाडि सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा मात्र होइन प्रधानन्यायाधीश चोलेन्द्र समशेरका भाइ प्रभु समशेर पनि सक्रिय भएका छन् । तिनै प्रभुमार्फत् विशेष अदालतदेखि सर्वोच्च अदालतसम्म चोचोमोचो मिलाउने काम अहिले जारी छ । आगामी बिहीबार गच्छदार विशेष अदालतमा जाने भएका छन् । त्यसैको निम्ति उनले आमसञ्चार साधनका टाठाबाठा पत्रकारहरूको प्रयोग पनि गर्न थालेका छन् । त्यसो त उनलाई पहिला राजा ज्ञानेन्द्रले शाही आयोग र अख्तियारबाट जोगाएका थिए । अहिले ज्ञानेन्द्र छैनन् । उनका निम्ति डा. आरजु र प्रभु समशेरहरू रु. ५ करोडको मोलतोल गर्दै गच्छदारलाई चोख्याउने तयारीमा लागेका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ताहरूले अन्य भ्रष्टहरूप्रति आक्रामक बने पनि राजनीतिक नेतृत्व तहमा पुगेको कारण गच्छदारलाई तारो बनाउन भने सकेका छैनन् । यद्यपि ललित निवास जग्गा काण्डका मुल नाइकेहरू भागिरहेका छन् । गच्छदार जस्ता मान्छेहरू डराई डराई राजधानीका सडकहरूमा गाडी कुदाइरहेका छन् । पैसो भएपछि मुद्दा जितिन्छ भन्ने मनसाय बोकेका गच्छदारहरूलाई चोलेन्द्रका दाजु र देउवा पत्नीले बचाए भने त राम्रै हो जेल पठाए भने दीप बस्नेतसँग दौतरी बढ्ने नै छ ।