Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७७ जिल्लाका ३०० स्वास्थ्य केन्द्रबाट लगाइते छ कोरोनाको खोप

काठमाडौँ । कोरोनाले आक्रान्त भइरहँदा राजनीति नेतृत्व तमासामा लागिरहँदा छिमेकीले दिएको उपहारस्वरुपको खोप अभियान नेपालमा थालिने भएको छ । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लक्षित समूहलाई पहिलो चरणमा लगाउनका लागि सात वटै प्रदेशमा पठाइएको हो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो । गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । प्रवक्ता गौतमले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए ।
काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ । खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।