Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको शिलान्यास, ओलीको उद्घाटन

काठमाडौं । संसद विघटनले दुई धु्रवमा पुगेका छन् नेकपाका दुई अध्यक्ष । यही बेला लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका हुन् । तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् । पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
पुलको उद्घाटन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो । झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।
यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत पुल अवलोकन गर्न मानिसहरु यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।
गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।
पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा जनसभाको आयोजना गरिएको छ । यो जनसभामा ५० हजार जनता तथा पार्टीका कार्यकर्ता उतार्ने योजना बनाइएको छ ।