Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई हटाउने प्रचण्डको यस्तो छ खेलोमेलो

काठमाडौं। माखे साङ्लो बुनेर पार्टी एकतालाई नै भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने तानावाना बुन्न व्यस्त छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्ख र हेरको रणनीतिमा छन् ।

माओवादी केन्द्रले अझैपनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । ओली सरकारविरुद्ध आफै प्रधानमन्त्रीका रुपमा प्रस्तावित भई तत्कालिन नेकपाबाट अविश्वासको प्रस्ताव दायर गरिएपनि प्रचण्ड संयम भइरहनुलाई आँधी आउनु अघिको सन्नाटाका रुपमा लिइएको छ । प्रचण्डले अझैपनि ओलीलाई समर्थन दिइरहने सम्भावना न्यून छ । तैपनि, उनी किन समर्थन फिर्ता लिइरहेका छैनन् । प्रचण्डले ओली सरकारविरुद्ध परिपक्व समिकरण नबनेसम्म समर्थन फिर्तामा हतारो गर्न चाहेका छैनन् । समर्थन फिर्ता लिएपछि ३० दिनभित्र ओलीले विश्वासको मत लिनुपर्छ ।

त्यो लिन सकेमा प्रचण्डका लागि अर्को राजनीतिक झड्का पर्न सक्छ । त्यस्तो कुनै मौका नदिने तयारीमा उनी लागेका छन् । प्रचण्डले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको समिकरण बनाउन सक्रियता देखाएका छन् । उनले काँग्रेस र जसपा नेतृत्वलाई भेटिसकेका छन् । आफूले प्रधानमन्त्री नबनेर भएपनि काँग्रेस या जसपामध्येबाट एक उम्मेदवार बनाएर जाने प्रचण्डको रणनीति बुझिएको छ । उनी कुनै हालतमा ओलीको बर्हिगमन चाहन्छन् । भित्र भित्र राजनीतिक खिचडी पाकिरहँदा कुनैपनि बेला ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्छ ।

प्रस्ताव नआएमा प्रचण्डले समर्थन फिर्ता लिन्छन् । त्यस्तो अवस्थामा विश्वासको मत लिन ओली लाग्नेछ । त्यतिबेला उनलाई असफल बनाउने गरी वैकल्पिक रणनीतिमा समेत प्रचण्ड लागेको बुझिएको छ । केही दिनकै गृहकार्यमा छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि आउन सक्छ । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष महन्थ ठाकुरलाई मनाउन प्रचण्ड लागेका छन् । यी दुई नेता मिलेलगत्तै अकस्मात् अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।


सम्बन्धित समाचार