Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महासङ्घ ६६ औँ वर्षमा

काठमाडौं । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्ष धरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देशमार्फत स्थापना दिवसका अवसरमा सहकार्य तथा साथ र सहयोगका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध सङ्घसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनको नेतृत्व तथा नागरिक संस्थामा हार्दिक आभार व्यक्त गरेका छन् ।

अहिले महासङ्घ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ वैदेशिक शाखा र १२ एसोसिएट संस्था आवद्ध छन् । महासङ्घले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । ‘हाम्रा अग्रजको योगदान र महासङ्घको गौरवपूर्ण इतिहासप्रति महासङ्घ केन्द्रीय समिति गर्व गर्दछ, आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभइ महासङ्घको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागि रहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु’ शुभकामना सन्देशमा भनिएको छ ।

स्थापना दिवसका अवसरमा महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लगानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापनालगायतका मागका सम्बन्धमा सरकारसहित सम्बन्धित निकायमा पुनः ध्यानाकर्षण गराएको छ । त्यसैगरी महासङ्घले यही २०७७ चैत २५ गते एकै दिन केन्द्र, प्रदेश र शाखाका कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई स्वस्थ्य, स्वतन्त्र र व्यवस्थित ढङ्गले सफल पार्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार