Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । लामो समय पछि उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको छ । माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलका अनुसार सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको हो । अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलले बताएका छन् ।मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ । अधिकांश महिलालाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाबाट जानकारी प्राप्त भएको हो । भारतलगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुलाई बेपत्ता बनाएको माइती नेपालले जनाएको छ । एक वर्षमा ११ वटा करणीका घटनामा कार्यालयमा उजुरी परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिनुभयो । यस वर्ष २५ वटा घरेलु हिंसाका घटनाको उजुरी परेको छ । अघिल्लो वर्ष १७ वटा दर्ता भएका थिए । कोभिड–१९ का कारण विराटनगरको रानी सीमा नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पु¥याउने गरेको कार्यालयले जनाएको छ । यद्यपि कोभिड–१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेलीबेटी बेचबिखनका घटनामा केही कमी आएको छ । बिचौलियाले युवतीलाई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेलगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेचबिखनका लागि लग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचेतना बढाउनुपर्ने बताएका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल