Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपा विभाजनको बाटोमा

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको पछि लागेर केही माग पूरा गरेका जनता समाजवादी पार्टीका नेताहरु आन्तरिक किचलोमा परेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी गरिरहेका छन् । नेता कर्णले ताजानेपाललाई भने, ‘पार्टीभित्रकै नेताले एक अर्कालाई कारवाही गर्न थालेपछि बुझ्नु पार्टी एक छैन, त्यसको ताजा उदाहरण नेकपा र एमालेलाई लिन सकिन्छ । नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक अर्कालाई कारवाही गर्ने काम सुरु गरेपछि पार्टी विभाजन भयो । त्यस्तै एमाले पनि विभाजित भइरहेको छ, ओली र माधव नेपालले एक अर्कालाई कारवाही गरिरहेका छन् अन्ततः सो पार्टी विभाजनको अन्तिम अवस्थामा छ ।

जसपा नेपालमा पनि त्यही रोग लागेको छ, यस्तै रह्यो भने यो पार्टी पनि धेरै दिन सग्लो रहँदैन । जसपा नेपाल विभाजन भए मधेशका लागि सबभन्दा ठूलो दुर्भाग्य हुने उनले बताएका छन् । उनले आफू मधेशको माग पुरा गराउन सक्रिय रहेको बेला स्पष्टीकरण सोध्ने काम भएको समेत गुनासो गरे । ‘मधेसीमाथि लागेको केही मुद्दा फिर्ता भएका छन्, नागरिकताको समस्या समाधान गर्ने र संविधान संशोधनका लागि अध्ययन गर्न विज्ञ समूह बनाउने निर्णय मन्त्रीपरिषदबाट भएको छ, यदि सक्रिय भएर नलागेको भए यी मागहरु पुरा हुने थिएन ।

अझै थप माग पुरा हुने क्रममा रहेको बताउँदै उनले कुनै विषयलाई गम्भीरतापूर्वक अध्ययन नगरी सिधै एक्सनमा जानु राम्रो नभएको बताएका छन् । उनले भने, ‘मेरो एउटै गल्ती हो, मैले मधेशको माग पुरा गराउन बालुवाटारदेखि सिंहदरबारसम्म धाएँ, केही माग पुरा गराइयो, त्यसकारणले मलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।’ कोरोना संक्रमित नेता कर्ण केही दिनदेखि होम आइसोलेशनमा रहेका छन् । उनले भने, ‘जसपा नेपालमा देखिएको विवादास्पद कुनै पनि बैठकमा म गएको छैनन्, प्रधानमन्त्री ओलीले संसदमा लिनुभएको विश्वासको मत चुनावमा पनि म सहभागी थिइनँ, कहाँ कहाँ के बैठकहरू बस्यो, म कुनैमा पनि पनि गएको छैन, अनि मलाई केको स्पष्टीकरण ?

मबाट एउटै गल्ती भएको छ त्यहि मधेशको माग पुरा गराउन बनेको कार्यदलमा बस्नु । यदि त्यही कारणले मलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो भने मबाट यस्तो गल्ती भइरहन्छन् ।’जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर महागल्ती गरेको पनि उनले जिकिर गरेका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल