Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
० शेखर खनाल, हाँस्य अभिनेता
नेपाली कला क्षेत्रका प्रख्यात हाँस्य कलाकार, अभिनेता हुन शेखर खनाल । रंगमञ्चीय अभिनयमा सक्रिय रहदै बिभिन्न टेलिचलचित्र, बिज्ञापन, चलचित्र लगायत सबै क्षेत्रमा उनको अलग्गै पहिचान छ । चलचित्रमा हाँस्य अभिनयसंगै बिबिध बिद्यामा उनको दख्खल रहेपनि दर्शकहरुले उनलाई हाँस्य अभिनेताको रुपमा रुचाएका छन् । हाँस्य अभिनयको भिडमा सर्वोच्च उचाई निर्माण गरेका उनै शेखर खनालसंग ताजाखबर साप्ताहिकका लागि सानुकाजी श्रेष्ठले गरेको संक्षिप्त कुराकानीः
० हाल के गर्दै हुनुहुन्छ ?
– कोभिड १९ को बिश्वब्यापी संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन, पहिलो चरणको संक्रमणबाट बिस्तारै पार हुँदै गएको अवस्थामा दोश्रो चरणको संक्रमण झन ब्यापक भएर आयो । यसले नेपाललाई स्तब्ध बनाएको छ । संक्रमणको बिस्तारसंगै मृत्यु दर बढ्नुले हामी सबैलाई संक्रिमितमात्रै होइन त्रास पनि बनाएको छ । तर यसबाट भाग्नु समस्याको समाधान होईन भन्ने मनन गरी मैले सहकर्मी साथीहरु, शुभेच्छुकहरु र प्रशंसकहरुसंग सहकार्य गरेर संक्रमणमा परेकालाई स्वास्थ्य समाग्री, अक्सिजनको ब्यवस्थापन तथा न्युन आए भएका चलचित्र प्राबिधिक मजदुर बर्ग र आवश्यक क्षेत्रमा आर्थिक, भौतिक र नैतिक समर्थन र सहयोग गर्दै आइरहेको छु । दिन दिनै संक्रमण फैलदों छ । यसलाई न्युनिकरण गर्न कसरी सकिन्छ र मानिसको मनोबल कसरी उकास्न सकिन्छ भनेर प्रचारक अभिब्यक्ति सहितको अभियानको संचालन पनि गर्दै छु । यो समय जीउ धनको सुरक्षा गर्नु पर्ने भएकोले अधिकतम् समय यसैमा समर्पित गरेको छु ।
० तपाई यो क्षेत्रमा कहिले देखि आउनु भयो ?
– विक्रम संवत २०६० साल देखि म अभिनय क्षेत्रमा सक्रिय भएर लागेको हुँ । चलचित्र क्षेत्रमा प्रवेश अघि म भित्रको अभिनय कुशलता निखार्ने काम बिद्यालय, तथा क्याम्पसका स्टेज शोहरुमा हुन्थे । तर ब्यवसायिक रुपमै यसमा लागेको आज १८ वर्ष हुँदै छ । बिभिन्न उत्तर चढाबका बावजुद पनि यो क्षेत्रमा अलग पहिचान बनाउन पाउँदा गौरब महसुस भएकोछ ।
० हाँस्य ब्यंग्य कलाकारहरुको अवस्था कस्तो छ, नेपालको सन्दर्भमा ?
– हाँस्य ब्यंग्य हाम्रो सभ्यता पनि हो । सिनेमा बन्नुअघि देखि नै समाजमा बिभिन्न ब्यक्तिहरुले आआफ्नो स्वभाव र सोच अनुरुपको हाउभाउ अभिब्यक्ति दिने गर्दथ्ये, कसैको ब्यांग्यात्मक कसैको सम्वेदनात्मक आफ्नो आफ्नो तरिकाको प्रस्तुती हुने समाज हो हाम्रो । गाउँमा हुने मेला, जात्रा पर्वहरुमा पनि बिषेश गरी हाँस्य हाउभाउ प्रस्तुत गर्ने ब्यक्ति सबैको प्रिय हुन्थ्यो । चलचित्रमा हाँस्य त्यसैको प्रतिबिम्व हो । यो कार्यहरु भन्दा कठिन तर लोकप्रिय कार्य हो । समाजका घट्ना र पात्रहरुको नक्कल गर्दै आनन्द लिने र दिने कार्यले यसको गरिमा बढेको हो । नेपालमा हाँस्य ब्यंग्य अत्यधिक रुचाईने बिषय हो । हाँस्य ब्यंग्यलाई नै माध्यम बनाएर यहाँ बिभिन्न अभिनेता भन्दा हाँस्य अभिनय गर्ने अभिनेताहरुको आम्दानी र सामाजिक सम्मान नेपालमा अत्याधिक रहेको छ । प्रायः निर्माण गरिने श्रब्यदृश्य सामाग्रीहरुमा हाँस्य ब्यंग्य प्रस्तुती हुने गर्छ ।
० तपाईलाई अवार्ड रचयिता हाँस्य अभिनेता भनेर चिनिन्छ, हालसम्म के के अवार्ड पाउनु भो ?
– प्राप्तिमा भन्दा पनि कर्ममा बिश्वास गर्ने भएकोले त्यतातिर ध्यान जाँदैन मेरो, तर पनि अवार्ड र सम्मानले म भित्रको मलाई जगाउछ र अझै बढी कर्म गर्न प्रेरित गर्दछ । मैले नेपालमा महत्वपुर्ण अवार्डहरु प्राप्त गरेको छु । जनचेतना नेपालव्दारा आयोजित थियटर वेष्ट कमेडी अवार्ड २०७२, छायाँछबि क्रियशन कम्पनीव्दारा आयोजित नेशनल डि.सिने अवार्ड वेष्ट कमेडि एक्टर सर्ट फिल्म ‘द स्याडो अफ माउण्ट एभरेष्ट’, पिन नेपालव्दारा आयोजित डकुमेन्ट्री फिल्म फेष्टिभल २०१८ मा वेष्ट डकुमेन्ट्री फिल्म मेकर अवार्ड, स्टार वान इन्टरटेनमेन्ट कम्पनीव्दारा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०७७ बाट वेष्ट कमेटियन एक्टर सर्ट मुभि ‘धुर्त काजी’, वुमन्स एरा मिडिया ग्रुपव्दारा आयोजित हिमालयन इन्टरनेशनल अवार्ड २०७७ बाट वेष्ट कमेडी आर्टिष्ट लगायत बिभिन्न अवार्ड, सम्मन तथा नगद पुरस्कारहरु प्राप्त गरेको छु ।
० आर्थिक सन्तुष्टि कत्तिको पाउनु भएको छ ?
– सबभन्दा ठुलो कुरा आत्मिक सन्तुष्टि हो । तर मिहेनत गरे अनुसार आर्थिक रुपले पनि म सन्तुष्ट छु । नेपालको बजार हेरेर राम्रो पारिश्रमिक पाउने अभिनेताको रुपमा चिनिएको छु । अरुको डाह गर्ने खालको पारिश्रमिक पाएको छु भने यसलाई सन्तुष्टीमात्रै होइन पुर्ण सन्तुष्टि मान्नु पर्छ ।
० तपाई देशविदेशमा थुप्रै स्टेज कार्यक्रमहरुमा पनि पुग्नु हुन्छ यसको राज के होला ?
– दर्शकको मायाँ नै हो भन्ने लाग्छ मलाई । मेरो चलचित्रको अभिनय रुचाउने दर्शकहरुको माग मेरो प्रस्तुती देश बिदेशका स्टेजहरुमा पनि होस भन्ने रहेको छ । आयोजकहरु पनि मेरो माग गर्नु हुन्छ । त्यसैले समय ब्यवस्थापन गरेर स्टेज शोहरुमा पनि जान्छु जहाँ मैले मेरा शुभचिन्तकहरुसंग प्रत्यक्ष भेट्न पाउँछु, आफ्नो लागि बिषयवस्तु पनि नयाँ भेट्टाउछु र पारिश्रमिक र सम्मान पनि पाउँछु । त्यस्तो शुभ अबसर म गुमाउँन चाहन्न ।
० तपाई निर्णायक समिति सदस्यको रुपमा पनि देखिदै आउनु भएको छ । हालसम्म कस्ता कार्यक्रमहरुको निर्णायककोे भुमिका निर्वाह गर्नु भएको छ ?
– म सबै कार्यक्रमहरुमा पुगेर निर्णायक बस्न सक्ने समय मसंग छैन त्यस्को लागि आयोजकहरुसंग क्षमा चाहन्छु । तर कतिपय कार्यक्रमहरुमा म नपुगी हुँदैन । म जस्तै थुप्रै क्षमतावान नव प्रतिभाहरुलाई प्रोत्साहित गर्न म त्यहाँ पुग्छु किन कि म समाजको प्रतिनिधिपात्र पनि हुँ, त्यसैले जाने गर्दछु जस्तो कि परिवर्तन नेपालव्दारा आयोजना गरिएको नेपाली कमेडी शो २०१२, छायाँछबि क्रियशनव्दारा आयोजित काठमाडौं सर्ट फिल्म फियस्टा २०१३, साधना कलाकेन्द्रले आयोजना गरेको साष्ट्रिय अभिनय प्रतियोगिता २००९, नेपाल चलचित्र नृत्यकार संघले आयोजना गरेको नेपाल डान्सर सिने अवार्ड २०१७, स्टार वान इन्टरटेनमेन्ट कम्पनिव्दारा आयोजित राष्ट्रिय हाँस्य ब्यंग्य प्रतियोगिता २०७८ मा मुख्य निर्णायक भई जिम्मेवारी बहन गरेको छु । यि लगायत मत थुप्रै अन्य प्रतियोगिताहरुमा समेत निर्णायकको रुपमा भुमिका निर्वाह गरिसकेकाके छु ।
० तपाई आवध्द रहेको कुनै संघसंस्थाहरु छन् ?
– थुप्रै संघ संस्थाहरुमा मेरो संलग्नता र आवध्दता रहेको छ । शिखर नेपाल नामक संस्थाको अध्यक्ष रहि कार्य गर्दै आइरहेको छु । त्यसै गरि फुलारा लिट्रेचर फाउण्डेशन नेपालको महासचिव, नेपाल चलचित्र निर्देशक समाजको निवर्तमान महासचिव, नेपाल हाँस्य कलाकार मञ्चको अध्यक्ष समेत रहि सामाजिक एवं चलचित्र गतिबिधिहरु गर्दै आइरहेको छु । यी लगायत थुप्रै संघ संस्थाको आजिवन सदस्य, मानार्थ सदस्यको रुपमा समेत सक्रिय छु ।
० यो क्षेत्रको बिकासका लागि सरकारी तवरबाट के गरिनु पर्छ जस्तो लाग्छ तपाइलाई ?
– चलचित्र क्षेत्र उद्योगको रुपमा अघिबढ्दै गएको अवस्थामा यसको बिकासका लागि सरकारले दीर्घकालिन कार्यक्रमहरु ल्याउनु जरुरी छ । पेशामा संबध्द कलाकर्मीहरुको प्रोत्साहनका लागि प्रशिक्षण, लगायत अवसरको सिर्जना गर्नु पर्दछ । प्रबिधि एवं प्राबिधिक क्षेत्रमा अनुदान दिनु पर्दछ र नेपाली चलचित्रको दर्शकहरु बिश्वभर छरिएर रहेका छन् सबैको पहुँच हुने गरी चलचित्र निर्माण तथा पदर्शन गर्नु पर्दछ । सरकारले अरु ब्यवसायिहरु सरह चलचित्र निर्माणमा संलग्न ब्यवसायीहरुलाई मान्यता दियो भने यो क्षेत्रको बिकास हुन्छ भन्ने मेरो धारणा छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल