Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३, धाइजन चोकबाट ३१ वर्षीय विमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत शनिबार बेलुका लागुऔषध ब्राउन सुगरसहित पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्यो । यस्तै जेठ ९ गते झापाकै मेचीनगर नगरपालिका–६ बद्री टोलबाट २६ वर्षीय सुमन दनुवार र दमक–५ की २१ वर्षीय समिता राई पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
जेठ ४ गते झापाकै झापा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित सोही स्थानका २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बु पक्राउ गरेका छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु २ थान र नगद ५९ हजार रुपैयाँसमेत बरामद भएको थियो । यी त पछिल्ला केही प्रतिनिधिमुलक उदाहरण हुन् । प्रदेश १ का तराईका जिल्लामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेको घटना बढ्दो छ । एक महिना यता कोराना महामारीका कारण प्रदेशभर निषेधाज्ञा जारी छ । तर पनि यो बीचमा पनि लागुऔषधको कारोबारमा कमी आउन सकेको छैन । कारोबारीहरु दिनहुँजसो पक्राउ परिरहेका छन् । यद्यपि यो धन्दामा कमी आउन सकिरहेको छैन ।
लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढ्दो छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार निषेधाज्ञाको समयमा प्रदेशका तराईका जिल्लाबाट ब्राउन सुगरको कारोबारमा संलग्न १८ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट ८९ ग्राम १९२ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकामध्ये धेरैजसोलाई झापाबाट र केहीलाई मोरङ र सुनसरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रदेश १ का मुख्यतया यिनै तीन जिल्लाका सहरबजारबाट दिनहुँजसो लागुऔधषसहित मानिस पक्राउ पर्ने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले निषेधाज्ञाको अवधिमा पनि लागूऔषधको कारोबार चलिरहेका कारण पक्राउ पर्ने क्रम पनि नरोकिएको बताएका छन् । विशेष गरी झापाका सीमावर्ती गाउँमा धरान, इटहरी, विराटनगर, दमक लगायतका स्थानबाट कारोबारी एवं प्रयोगकर्ता पुग्ने गरेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय लागू औषध ब्राउन सुगर नियन्त्रण र रोकथामका लागि प्रहरीको ठुलो जनशक्ति परिचालित छ, प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्, तर पनि सोचेअनुरुप सफलता हात पर्न सकेको छैन । ब्राउन सुगरको कारोबार जस्तोसुकै अवस्थामा पनि नरोकिनु, उल्टै यसको कारोबारमा बढोत्तरी भएको देखिनुले लागू औषध नियन्त्रण र रोकथामका लागि थप रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने देखिएको उनले बताए । उनका अनुसार पछिल्ला समय पहाडी जिल्लामा पनि यसको सञ्जाल विस्तार हुँदै गएको छ । निषेधाज्ञाको अवधिमा होस् या सामान्य अवस्थामा पूर्वको सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागूऔषध भित्र्याउन सक्रिय गिरोहले पछिल्लो समय ‘ब्राउन सुगरलाई प्राथमिकता दिएको देखिन्छ । प्रदेश १ सँग जोडिएका भारतीय बजारमा नेपालमा प्रतिबन्धित लागुऔषध सजिलै पाइने गरेको प्रहरीको भनाइ छ । निषेधाज्ञाको अवधिभन्दा अघिकै तथ्यांकलाई केलाउने हो भने प्रदेश १ मा पक्राउ परेका लागुऔषध कारवाहीमा मध्य तथा पश्चिम नेपालका समेत छन् । यसले पनि पूर्वी नेपाल र त्यससँग जोडिएको भारतीय बजार लागुपदार्थ कारोबारीका लागि आकर्षक थलोका रुपमा विकसित हुँदै गएको बुझ्न सकिन्छ ।
पूर्वी नेपालका नजिक रहेका भारतीय बजारमा अहिले ‘ब्राउन सुगर’ नै चल्तीको आइटम बनेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नेपाली कारोबारीले तिनै भारतीय बजारलाई आफ्नो कारोबार सञ्चालनको सुरक्षित र भरपर्दो थलो बनाएका छन् । ती बजारहरुमा पूर्वका मात्रै नभई नेपालभरीका कारोबारीहरु सामान्य अवस्थामा पुग्ने गरेका छन् । तर अहिलेको अवस्थामा नजिकका स्थानबाट कारोबारीका स्थानीय वितरक र प्रयोगकर्ता प्रहरीको आँखा छलेर भारतीय बजार पुग्ने गरेका छन् । फोन मार्फत सम्पर्कपछि उनीहरु विभिन्न बहानामा प्रहरीलाई झुक्याएर सीमापारको बजारमा लागूऔषध ब्राउन सुगर लिन पुग्ने गरेका छन् । त्यहाँबाट ब्राउन सुगर भित्र्याएपछि स्थानीय प्रयोगकर्तालाई उनीहरुले वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अहिलेको अवस्थामा कारोबारीलाई सीमापार गर्न सहज नभए पनि उनीहरु प्रहरीको आँखा छल्ने र विभिन्न बहानामा झुक्याउने, विभिन्न पेशाको भेषमा समेत सीमापार गर्ने गरेको बताएका छन् ।
श्रेष्ठका अनुसार कतिपय अवस्थामा पत्रकारको भेषमा नक्कली कार्ड बनाएर सीमा क्षेत्रको रिपोर्टिङ गर्ने बहानामा पनि लागुऔषध सेवनकर्ता एवं कारोबारी सीमा क्षेत्रमा पुग्ने गरेको पाइन्छ । प्रहरीका अनुसार ओसारपसारमा काठमाडौं, पोखरा, धरानलगायतका शहरका युवा संलग्न रहेको पाइने गरेको छ । बजारमा सहज पहुँच र ओसारपसारमा सजिलोका लागि पूर्वी नाकातिर नै उनीहरुको रुचि बढेको हुन सक्ने प्रहरीको भनाइ छ ।लागुऔषधका अधिकांश कारोबारीले अहिले ब्राउन सुगर रोज्न थालेको प्रहरीले जनाएको छ । इन्जेक्सन, ट्याब्लेट बोक्दा भारी हुने, छामछुम गर्दा बज्ने भएकाले पनि कारोबारीले ब्राउन सुगरलाई नै प्राथमिकता दिन थालेको प्रहरीको अनुमान छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार गत साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा झापा, सुनसरी, मोरङसहितका जिल्लाबाट ब्राउन सुगरको कारोबारमा संलग्न १० महिलासहित २८० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३ किलो २०४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा अधिकांश कारोबारी एवं वितरक हुन् भने केही संख्यामा प्रयोगकर्तासमेत छन् । मुख्य कारोबारी भने पक्राउ पर्ने गरेका छैनन् । उनीहरु भारतमा बसेर कारोबार सञ्चालन गर्ने गरेकाले पनि प्रहरीको आँखामा नपरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीका अनुसार ब्राउन सुगर उच्च गुणस्तरको र महँगो लागुऔषधमध्येमा पर्दछ । तस्करी गरी ब्राउनसुगर नेपाल ल्याइपुयाउँदा सुनकोभन्दा महँगो मूल्यमा कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार ब्राउन सुगरलाई कारोबारीले स्थानीय बजारमा ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउन सुगरबाट ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतबाट स्थानीय बजारमा यसलाई भित्र्याएपछि प्रतिडोज ३ हजारदेखि ५ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ । गिरोहले भारतमा प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँसम्म ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थाइल्याण्ड, म्यानमारबाट भारत हुँदै यो लागुऔषध नेपाल भित्रिने गरेको प्रहरीको भनाइ छ । विषेशगरी काँकडभिट्टा नाकाबाट ब्राउनसुगर भित्रिने गरेको बताइन्छ ।
कारोबारीले पूर्वी नेपाललाई ब्राउनसुगरको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग गर्दै देशका विभिन्न भागमा यसको सप्लाइ गर्ने गरेको प्रहरी बताउँछन् । दुई वर्षमा प्रदेश १ मा ७ केजी ६ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । ब्राउन सुगरको कारोबार बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि लागूऔषध ब्यूरोको टोली छुट्टै परिचालन हुने गरेको छ । उक्त टोलीले नाका क्षेत्रमा निगरानी गर्ने र कारोबारीलाई नियन्त्रणमा लिन भूमिका निर्वाह गर्दै आएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोली परिचालन भएसँगै दिनहुँजसो ब्राउन सुगर कारोबारी पक्राउ पर्ने क्रम पनि बढेको छ । प्रहरीका अनुसार लागुऔषधको कारोबार र प्रयोगकर्तामा बढीजसो १८ देखि ३० वर्ष उमेर समूहका युवा छन् । ब्राउन सुगरको कुलतमा पनि युवा उमेरकै मानिसको बढी संलग्ता देखिन्छ । त्यसैगरी कारोबारीमा संलग्न पनि धेरैजसो युवा नै छन् । मुख्य कारोबारी भने भारतमा बसेर स्थानीय एजेण्टमार्फत लागुऔषधको व्यापार गर्ने भएकाले उनीहरु अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरीको भनाइ छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल