Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिग्रेको सपार्ने अभियानमा देउवा

काठमाडौं । आवश्यकभन्दा अनावश्यक कुरा गरेर पार्टी र सरकारको बदनाम गरेका पात्रलाई सत्ताच्यूत गरेपछि बनेको राजनीतिक परिवेश सपार्ने अभियानमा काँग्रेस सभापति शेरबहादुर देउवा भिडिरहेका छन् । मन्त्री हुनका निम्ति उनलाई दबाव दिने उनकै पार्टीका नेताहरु मात्र होइनन्, संसदबाट विश्वासको मत लिन सघाउने दलहरुले समेत शेरबहादुरलाई शान्त हुन दिइरहेका छैनन् । कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतलाई आफ्नै अहंकार र घमण्डले सिध्याएका केपी शर्मा ओलीले पद छाड्नु परेपछि व्यक्त गरेका अभिव्यक्तिले उनको राजनीतिक व्यक्तित्वलाई रसातलमा पु¥याएको छ । ओलीको त्यही चरित्रका कारण उनकै पार्टीभित्रका सांसदहरुले विद्रोह गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाकोपक्षमा मतदान गर्न पुगे ।

जुन मत देउवाका लागि अपेक्षित गरिएको भन्दा बढी भयो । आखिर १२१ सांसद रहेको नेकपा एमाले ओलीले विश्वासको मत लिँदा ९३ मा झ¥यो । देउवाको पालासम्म आपुग्दा ८३ जनामा खुम्चियो । हरेक कुरा आफैं सर्वज्ञाता बनेर निरंकुश शैली अपनाउँदा कम्युनिष्ट पार्टीप्रति प्रजातन्त्रवादीहरुले लगाउने गरेको निरंकुश चरित्रको आरोप ओलीका ४१ महिनामा पुष्टि भयो । एमाले विभाजनको कारक मात्र होइन नेकपाको विभाजनमा समेत उनै ओली सक्रिय भए । उनलाई साथ दिने धुपौरेहरु थिए जति पैसा भए पनि नपुग्ने ईश्वर पोखरेल र कानुनका छिद्र केलाएर सरकार र पार्टी असफल बनाउने सुभाष नेम्वाङहरु ।

कल्पनामा रमाउन पाइन्छ, पानी जहाज, रेल, घरघरमा ग्यास पाइप, चुच्चे रेल, मनो रेल जस्ता योजनाहरु ओलीको ४१ महिने कार्यकालमा देख्न पाइएन । आखिर भाषणबाटै जनतालाई ढाँटेर गुटबन्दीबाट पार्टीलाई लछारेर जे गरियो त्यसको प्रतिफल साउन ३ गते संसदमा देखियो । ओली कालको समयमा बीचौलिया र माफियाहरुद्वारा रोकिएका थुप्रै आयोजनाहरु पूरा गर्न देउवा सरकारलाई चुनौती थपिएको छ । भत्काएका योजनाहरु मर्मत गरी अगाडि बढाउनु छ, जनताको सरोकारको विषय भनेको रोग र भोकप्रति सरकारको ध्यान जाओस् भन्ने हो । आफ्नो स्वार्थ विपरित भएकाले ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति शिष्टाचार समेत देखाएनन् । उनकै कारण राष्ट्रपतिले समेत आफ्नो गरिमा र मर्यादाको ख्याल गर्न पाइनन् । हरेक ठाउँमा हस्तक्षेप गर्ने ओलीको शैलीलाई एमाले भित्रैका एमालेहरुले विरोध गर्न बाध्य भए । सरकारले सर्वपक्षीय निर्णय गरेर राजनीतिक, वैचारिक परिवेशलाई ध्यान दिएको भए पुष्पकमल दाहालद्वारा खुला ऋदयले सुम्पिएको प्रधानमन्त्री पद तानाशाह बनेर आउने थिएन । दाहाललाई त ओली र उनको टिमबाट खेदियो खेदियो, माधव नेपाल, झलनाथ खनाल जस्ता मालेलाई एमाले बनाउने नेताहरु समेत ओलीको ४१ महिने कार्यकालमा बालुवाटार पुगेर पार्टीका योजना र कार्यक्रमहरुका बारेमा बहस गर्ने मौका पाएनन् ।

ओली कालमा भएको नीतिगत भ्रष्टाचारको छानविन हुने हो भने थामसेर्कु, हिमालयन एयर, ओम्नी, हुकाम जस्ता कम्पनीहरुसँग जोडिएका विषयहरु अवश्य पनि संसदमा प्रवेश हुन सक्दछन् । पार्टीको नाममा आफ्नो गुटबाहेक कसैलाई पनि राजनीतिक नियुक्ति र कुटनीतिक क्षेत्रको जिम्मेवारी नदिएका ओलीले बिगारेको प्रशासनिक क्षेत्र सपार्ने काम शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव जस्ताको काँधमा आएको छ । उनीहरुलाई मन्त्रि बन्नका निम्ति दबाव दिने समूह पनि ठूलो छ । माओवादीका नारायणकाजी श्रेष्ठ दाम्लै चुडालुम्लाझैं भाग खोज्दैछन् । पार्टीको जिम्मेवार नेता भएको अवस्थामा पनि उनलाई पार्टीबाट भाग नै चाहिएको छ । उनको सिफारिशमा गिरिराजमणि पोखरेल वा अञ्जना बिसंखेमध्ये एकजनालाई मन्त्री नदिने हो भने पुष्पकमल दाहालको अवस्था सहज नहुन सक्दछ । यही स्थिति शेरबहादुर देउवाको पनि नभएको होइन । त्यहाँ रामचन्द्र पौडेल, कृष्ण सिटौला र कोइराला परिवारले दबाव दिइरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

भान्सामा लडेर माधव पत्नी गायत्री घाइते

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल