Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई र न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अन्य अधिकारी सहभागी हुनेछन् ।
यही असोज ७ गते महासभामा गरिबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशीताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा विषयमा छलफल हुने कार्यक्रम छ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्नेछन् ।
यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन् । महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद विषयक बैठकहरूमा पनि सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रिस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्ति कार्यसम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३० औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्युयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी सिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल असोज १४ गते न्युयोर्कबाट स्वदेशका लागि प्रस्थान गर्नेछ ।