Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी मिलाउँदैछन् माधवले विभाजनको चाँजोपाँजो

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर चित्त काटिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अन्ततः विभाजनमै जाने भएका छन् । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल निर्माणको तयारीलाई अन्तिम रुप दिइसकेका छन् । नेपालले आफू पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल पक्षमा नवौं महाधिवेशनबाट निर्वाचित र निर्वाचन आयोगमा दर्तामा रहेका कुल केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत छन् । उनीहरुको हस्ताक्षर संकलन भइसकेको छ । नयाँ दलको नाम समेत तय भइसकेको छ । समाजवादी पार्टी नाम दिएर दल दर्ताको तयारी भएको छ । नेपालले आफू पक्षधर सांसदहरुको समेत सूची तयार गरेर बसेका छन् । तर, उनलाई दल विभाजनका लागि सांसदतर्फ तत्काल ध्यान छैन । विश्वस्त स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश आउने भएको छ । जस अनुसार दल विभाजनका लागि केन्द्रीय कार्यसमिति र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्थामा दुई मध्ये एकमा ४० प्रतिशत पुगे हुने व्यवस्था गर्न लागिएको छ । अध्यादेशका लागि तयारी समेत भइसकेको छ । अध्यादेश ल्याउनका लागि सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्यको सिफारिश गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सदर गराइसकेको छ । प्रतिनिधि सभाको अधिवेशन नभएको अवस्थामा अध्यादेश ल्याउन मिल्छ । अध्यादेशकै लागि अधिवेशन अन्त्य भएको सूचना पाएर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुले आक्रोश पोख्न थालेका छन् । यसैगरी, माधव नेपाललाई वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले साथ दिने भएका छन् । तर, उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले साथ नदिने बुझिएको छ । सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्लीमा झलनाथ खनाललाई भेटेर फर्किएका छन् । एमाले फुट्ने निश्चित संकेत पाएका उनीहरु कुन पक्षमा लाग्ने स्पष्ट भएको छैन ।