Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अझै खुलेन संखुवासभा नरसंहारको रहस्य

संखुवासभा । संखुवासभा नरसंहारको रहस्य अझै खुल्न सकेको छैन । तालिमप्राप्त कुकुर र दक्ष प्रहरीको अनुसन्धान टोली सक्रिय भए पनि घटनाको रहस्य खुल्न सकेको छैन । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका क्रममा सबैको टाउँकोमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको प्रारम्भिक जाँचबुझमा टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको हो।
घटनास्थलबाट मुचुल्का उठाएर प्रहरीले शव पोष्टमार्टमका लागि विपि प्रतिष्ठान पु¥याएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनीहरूलाई पछाडिबाट लौरो वा मुंग्रोजस्तो कुराले आक्रमण गरिएको र सोको चोटले मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि, आक्रमणमा प्रयोग गरिएको आशंकित वस्तु फेला पर्न सकेको छैन ।
प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाटै एक जना फरेन्सिकसम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको छ । प्रहरीले रातको बेला नभई बिहानपख घटना भएको हुन सक्ने बताएको छ । शव भेटिएका खेतमा बुट पनि भेटिएकाले यो आशंका गरिएको हो । अज्ञात समुहले सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या गरेको थियो ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।