Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी अन्योलमा, गठबन्ध विवादमा

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता गराउन अमेरिका अग्रसर बने पनि नेपालले त्यसलाई अनुमोदन गर्न सक्ने अवस्था छैन । संसबाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन सकेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीसँग गठबन्धन दलका नेताले नै अलग–अलग धारणा राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने सन्देश दिएका छन् । एमसीसी प्रतिनिधिमण्डल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो, करिब एक घण्टा भएको भेटवार्तामा देउवाले सम्झौता अनुमोदन गराउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको जानकारी दिए । सुमारले भने सम्झौताबारे नेपालमा गलत प्रचार भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनले सम्झौता संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गरेकी थिइन् । सुमारले शुक्रबार नै माओवादी अध्यक्ष दाहाललाई उनकै निवास खुमलटारमा भेटिन् । एक घण्टा चलेको भेटवार्तामा दाहालले एमसीसी सम्झौतालाई राष्ट्रिय सहमतिबाट अघि बढाउने सन्देश दिए । भेटवार्तामा उपस्थित दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सुमारले सम्झौताका विवादित विषयमा प्रस्ट पार्ने कोसिस गरेकी थिइन् । सुमारले काठमाडौं आएलगत्तै सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको, एमसीसी इन्डो प्यासिफिक रणनीति वा अन्य कुनै सैन्य गठबन्धनमा नरहेको प्रस्ट पार्ने कोसिस गर्दै आएकी छन् ।